
काठमाडौं । महंगीले पछिल्लो समय मध्यम र निम्न मध्यम वर्गीय नेपालीको जनजीवन चुनौतीपूर्ण बनेको छ ।
सरकारले जनताको जीवनस्तर उकास्ने नाममा भर्खरै खर्बौंको बजेट पारित गर्यो । तर, श्रम गरेर बाँच्ने वर्गको जीवनस्तर सधैं जस्ताको तस्तै छ । बरु सामान्य जीविका गरेर पेट पाल्ने वर्ग हातमुख जोर्ने चुनौतीको घानमा पिल्सिन बाध्य छन् ।
हेटौंडा घर भएकी हिरामाया गौतम विगत १३ वर्षदेखि फुटपाथमा तयारी पोसाक बेच्ने व्यवसाय गरी जीविकोपार्जन गर्दै आउनुभएको छ । सवारी दुर्घटनामा परी शारीरकि रूपले अशक्त हिरामाया अहिले ६४ वर्षको हुनुभयो ।
शारीरीक अपाङ्गता भएकै कारण पतिले छोडेर गएपछि आफूले व्यवसाय सुरु गरेको बताउने उहाँ गरीब, निम्न वर्गका मानिस र सानोतिनो काम गरेर दैनिकी गुजारा गर्ने मानिसहरूका लागि महंगी बज्रपात साबित भएको बताउनुहुन्छ ।
हिरामाया जस्तै रामेछाप घर भएकी लालमाया भुजेल पनि विगत ५ वर्षदेखि काठमाडौंको न्युरोड वरिपरि थर्मसमा चिया बेच्नुहुन्छ । यहि व्यवसाय बाट नै लालमाया र परिवारको जीविकोपार्जन हुँदै आएको छ । जनताले मतको बदलामा महँगी उपहार पाएको उहाँको गुनासो छ ।
महंगीको मार त छँदैछ, व्यवसाय गर्न उचित स्थानको अभावका कारण महानगरले दुःख दिँदा सास्ती खेप्नुपरेको गुनासो पनि कम्ताको छैन । काम गरेर खाने वातावरण मिलाइदिन वा बेरोजगारी भत्ता दिन उनीहरू सरकारसँग माग गर्छन् ।
हिरामाया र लालमायाजस्ता कयौं श्रमिक वर्ग मानिस बढ्दो महंगीको मारमा छन् । जनताका नाममा राजनीति गर्नेहरूले उनीहरूको हितमा आफूलाई समर्पित गरेको दाबी गर्ने गरे पनि यथार्थ त्यस्तो देखिँदैन ।
नीति निर्माताहरूले विकासका खाका कोर्दा यस्ता अनुहार स्मरण गर्नु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्