
काठमाडौं । बायर्न म्युनिखले लिभरपुलका फरवार्ड साडियो मानेलाई अनुबन्ध गर्ने भएको छ ।
लिभुरपुल मानेलाई ४ दशमलव १ करोड युरोमा जर्मन च्याम्यिनलाई बेच्न सहमत भएको हो । लिभरपुलले मानेका लागि एकमुस्ट रूपमा ३ दशमलव २ करोड युरो प्राप्त गर्नेछ भने खेल खेलेअनुसार थप ६० लाख युरो र थप ३० लाख युरो व्यक्तिगत र टोलीको सफलताको आधारमा प्राप्त गर्ने बीबीसीले जनाएको छ ।
यसअघि ३० वर्षीय खेलाडीका लागि बायर्नले दुई वटा प्रस्ताव पेश गरेपनि लिभरपुलले अस्वीकार गरेको थियो । यसपटक भने लिभरपुल मानेलाई बेच्न तयार भयो । माने सन् २०१६ मा ३ दशमलव १ करोड पाउण्डमा साउथ ह्याम्पटनबाट लिभरपुलमा भित्रिएका थिए । लिभरपुलमा मानेले प्रिमियर लिगको उपाधि जित्नुकासाथै च्याम्पियन्स लिगको उपाधिसमेत जितेका छन् । एनफिल्ड क्लबका लागि उनले लिगमा ९० गोल गरेका छन् ।
गत सिजन उनले सबै प्रतियोगितामा २३ गोल गरेका थिए । उरुग्वेका युवा फरवार्ड डार्विन नुनेज बेनफिकाबाट लिभरपुलमा आबद्ध भएसँगै माने बाहिरिन लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्