
काठमाडौं । आर्थिक वर्ष सकिन लाग्दा पनि प्रदेश १ सरकारले ५४ प्रतिशत मात्र बजेट खर्च गरेको छ ।
साढे ३४ अर्बको बजेटमा प्रदेश सरकारले १८ अर्ब मात्रै खर्च गरेको हो । हालसम्म प्रदेश सरकारले पुँजीगततर्फ ९ अर्ब २४ करोड ४९ लाख र चालुतर्फ ९ अर्ब २२ करोड ७३ लाख बजेट खर्च गरेको छ । सरकारले चालु आर्थिक बर्षका लागि १७ अर्ब ९७ करोड ७ लाख पुँजीगत बजेट बिनियोजन गरेको थियो भने चालुतर्फ भने १६ अर्ब ५४ करोड ५ लाख ९ बजेट बिनियोजन गरेको थियो ।
प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले सबैभन्दा बढी ९६ प्रतिशत बजेट खर्च गरेको छ । सबैभन्दा कम २० दशमलव १२ प्रतिशत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले २ अर्ब २३ लाख खर्च गरेको छ । सो मन्त्रालयका लागि चालु आर्थिक वर्षका लागि २ अर्ब ७ करोड २६ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।
मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको सरकारले चालु आर्थिक वर्षको आठौं महिनामा बजेट पुनरावलोकन गर्ने बताउँदै आएका थिए । तर बजेट पुनरावलोकन हालसम्म भएको छैन । सरकारले आगामी आर्थिक बर्षका लागि बजेटसमेत ल्याइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्