
काठमाडौं । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा ६ अर्ब ५५ करोड रुपैयाँ भन्दा बढी राजस्व सकंलन गरेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म कार्यालयले ६ अर्ब ५५ करोड ४५ लाख रुपैयाँ राजस्व संकलन गरेको हो ।
कार्यालयले यो अवधिमा ६ अर्ब २५ करोड २६ लाख ९ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । यो लक्ष्य भन्दा ४.८३ प्रतिशत बढी हो ।
कार्यालयले चालु आर्थिक वर्षमा ६ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।
रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात बढेका कारण राजस्व संकलन बढेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।
कार्यालयले राखेको लक्ष्य भन्दा समग्रमा राजस्व संकलनमा वृद्धि भएको देखिएपनि आयातमा सुधार आउन सकेको छैन । गएको जेठ महिनामा लक्ष्यको तुलनामा ९२.१३ प्रतिशत मात्र राजस्व संकलन भएको कार्यालयको तथ्यांक छ ।
कार्यालयले जेठमा ५५ करोड ९३ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ५१ करोड ५३ लाख २८ हजार रुपैयाँ मात्रै संकलन भएको छ ।
विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण २८ महिनादेखि रसुवागढी नाकाबाट सामग्री आयात घटेपछि राजस्व संकलन प्रभावित बन्दै गएको छ । अहिले एकतर्फी रूपमा नाका सञ्चालन भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्