२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


संघ र प्रदेशको निर्वाचनपछि पनि गठबन्धन रहन्छ : अध्यक्ष नेपाल


117
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी संघ र प्रदेशको निर्वाचन र त्यसपछि पनि गठबन्धन कायम रहने बताउनुभएको छ ।

आइतबार समाजवादी प्रेस संगठनले काठमाडौंमा आयोजना गरेको सम्पादहरूसँगको संवादमा उहाँले आगामी निर्वाचनमा कुनै एक पार्टीले मात्र बहुमत नल्याउने भएकाले अहिलेको गठबन्धन आगामी दिनमा पनि कायमै रहने बताउनुभएको हो । उहाँले गठबन्धनकै कारण पोखरा महागर र हेटौँडा उपमहानगर जित्न सफल भएको पनि बताउनु भयो ।

मतपत्र बदर नभएको भए काठमाडौं महानगर, तुलसीपुर र इटहरी उपमहानगरको उपमेयर जित्न सक्ने अवस्था रहेको उहाँको भनाइ थियो । यद्यपी उहाँले गठबन्धनको बलमा चुनाव जित्ने सोचाइ त्याग्न पार्टीका नेता–कार्यकतालाई सुझाव दिँदै आफ्नौ खुट्टामा उभिनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष नेपालले गठबन्धनभित्र संघ र प्रदेशको निर्वाचन मंसिर महिनालाई आधार बनाएर कुराकानी भइरहेको भन्दै सिट संख्याको टुंगो लाउने विषयमा छलफल भइरहेको बताउनुभयो ।

उहाँले स्थानीय चुनावबाट गठबन्धनले सिट बाँडफाँटमा ढिलाइ गर्न नहुने पाठ सिकाएको भन्दै आगामी निर्वाचनमा पनि गठबन्धनका दलबीच सिट बाँडफाँटमा ढिलाइ गर्न नहुने बताउनुभयो । उहाँले स्थानीय चुनावको तुष पालेर नकारात्मक धारणा बनाउन आवश्यक नरहेको उल्लेख गर्नुभयो ।