१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं महानगरको नीति तथा कार्यक्रम सार्वजनिक, खाली जग्गामा पोखरीदेखि फल्चा निर्माण गरिने


1.417k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्द्रको नियमन गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आइतबार आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैे कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्दको अभिलेखीकरण गरेर व्यवस्थित ढंगले सञ्चालन गरिने बताउनुभयो । नीति तथा कार्यक्रममा करदाताको स्वास्थ्य बीमा गर्ने नीति ल्याइएको छ । कररदाताको स्वास्थ्य बीमाका लागि बढीमा ५० प्रतिशत अनुदान दिने घोषणा गरिएको छ ।

यस्तै, महानगरले महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरु निर्माण गर्ने जनाएको छ । यात्रुहरुको बिश्रामका लागि बस स्टपहरुमा फल्चा निर्माण गर्न विभिन्न संघ संस्थालाई प्रोत्साहित गर्नुका साथै डबलीहरु पनि पुनस्थापना गर्ने घोषणा गरिएको छ ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर साहले काठमाडौं महानगरभित्र रहेका सरकारी, सार्वजनिक, निजी संस्थाहरुको परिसरमा रहेको खाली जग्गामा पानी पुनर्भरणका लागि पोखरीको निर्माण गरिने उल्लेख गर्नुभयो । बोरिङ गरिँदै आएका स्थानमा रिभर्स बोरिङ गर्ने व्यवस्था मिलाउने बताइएको छ ।

उहाँले सार्वजनिक निजी साझेदारीमा सार्वजनिक शौचालयहरु सञ्चालन गर्ने नीति समेत लिएको जानकारी दिँदै पुराना हिटी र पोखरीहरुको पुननिर्माण गर्ने योजना सार्वजनिक गर्नुभएको छ ।

यस्तै, काठमाडौं महानगरपालिकाले प्रत्येक हप्ताको आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ । जनतासँग मेयर कार्यक्रममा जनतासँग प्रत्यक्ष कुराकानी हुने छ । महानगरपालिकालाई पारदर्शी र सुशासनको लागि मातहतका सबै कार्यालयमा सीसी क्यामेरा जडान गरिने कार्यक्रममा उल्लेख गरिएको छ ।