
काठमाडौं । नेपालको पर्यटन क्षेत्रको इतिहासमा पहिलो पटक जंगली च्याउ पर्यटनको सुरुवात भएको छ । आइतबार बिहान काठमाडौंबाट पर्यटक र च्याउविज्ञको टोलीले सगरमाथा आधार शिविरसम्मको यात्रा तय गरेको छ ।
नेपाल हिमाली, पहाड र तराई प्राकृतिक सम्पदा भरिएको धनी मुलुक हो । त्यसमाथि नेपालको जंगलमा च्याउ प्रशस्त पाईन्छ । नेपालको च्याउको अनुसन्धान भएको करिब २ सय वर्षको इतिहास भएता पनि च्याउ पर्यटकका लागि यो भर्जिन ल्यान्ड नै हो ।
हालसम्मको तथ्याकं अनुसार नेपालमा १ सय ८ प्रकार र १२ सय ९१ प्रजातीको च्याउ पाईन्छ । च्याउ खान र औषधिमा मात्र उपयोगी नभइ अब नेपालमा पहिलो पटक जंगली च्याउ पर्यटनको सुरुवात समेत भएको छ ।
जसमा पर्यटकहरुले च्याउको पारिस्थितिक प्रणालीमा खलल नपुयाई र वैज्ञानिक अनुसन्धानको रुपमा प्रयोग नगरी विशुद्ध रुपमा पर्यटकिय हिसाबले जंगली च्याउको अवलोकन भ्रमण गर्न पाउने भएका छन् । इन्टनेशनल माउण्टेन टे«किङले यो नौलो पर्यटनको सुरुवात गरेको हो ।
आइतबार नेपाल, अमेरिका र मेक्सिकोका पर्यटक र च्याउ विषेशज्ञहरु काठमाडौंबाट सल्लेरीहुँदै सगरमाथा आधार शिविरसम्मको पदयात्रामा गएका थिए । यात्रा गर्नु अघि जंगली च्याउ विशेषज्ञ डा. शिव देवकोटाले जंगली च्याउ पर्यटन नेपालबाट सुरु हुनु नयाँ अवसरको रुपमा रहेको बताउनुभयो ।
आफ्ना लागि पनि यो नयाँ अनुभव र अवसर भएको भन्दै अमेरिकी पर्यटक जुलियाना माइरेले यसबाट च्याउको दुनियामा केही नयाँ बुझने अवसर हुने बताउनुभयो ।
हिमालयन क्लाइमेट एण्ड साइन्स इष्टिच्युटका कार्यकारी निर्देशक रिचर्ड एफ सिल्बरले खुम्बु क्षेत्र नयाँ च्याउको संसार हुने भन्दै यसको अवलोकन रोमाञ्चित हुन सक्ने विश्वास ब्यक्त गर्नुभयो ।
कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र जुर्मुराउन लागेको समयमा च्याउले स्थानीय पर्यटनमा टेवा पुग्ने समेत देखिन्छ । साउथन इडाहो माईकोलोजी एसोशिएसनको प्रवन्ध निर्देशक मिकी माइरे यो पर्यटन यात्रामा च्याउको बारेमा धेरै सिक्ने र बुझन पााउने मौका भएको बताउनुहुन्छ । नेपालको च्याउको संस्कृति र प्रयोगका बारेमा पनि यो पर्यटन महत्वपूर्ण हुने माईकोलोजी एशोसिएसनका सदस्य ग्लोरिया माईरे बताउनुहुन्छ ।
नयाँ अभ्यासको रुपमा रहेको च्याउ पर्यटनले नेपालको पर्यटकिय क्षेत्रमा नयाँ सम्भाव्यताको ढोका खोलेको पदयात्रा टिम लिडर सोनाम ज्याग्बु शेर्पा बताउनुहुनछ ।
जंगली च्याउ पर्यटन नेपालमा नयाँ अवसरको रुपमा सुरुवात गरिएको छ । नयाँ सुरुवातको रुपमा रहेको यो क्षेत्रमा अनुसन्धान गरि चुनौति र अवसरहरु ठम्याउन सके नेपालको स्थानीय पर्यटन व्यवसायमा टेवा पुग्ने देखिन्छ । यसलाई नेपालको मौलिक ब्राण्डको रुपमा विकास गर्न पनि सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्