
काठमाडौं । कोरोना भाईरस (कोभिड—१९) को महामारीसँगै त्यसको उपचारमा संलग्न डाक्टर र नर्सहरुका लागि आवश्यक सुरक्षा सामग्रीको सबैतिर अभाव भईरहेको छ ।
स्वास्थ्यकर्मीको सुरक्षका लागि अत्यावश्यक सामग्रीमा पीपिई, मास्क र पञ्जाको मात्रै चर्चा हुने गरेको छ । तर कारोनाको उपचारका लागि अति उपयोगी सामग्री चाहीँ एरोसोल बक्स पनि हो । जसले चिकित्सकलाई संक्रमितको सम्पर्कबाट टाढै राख्दछ । जुन बक्स नेपालमा समेत उत्पादन गर्न थालिएको छ ।
ताईवानी डाक्टर हिङसिङ युङले कोरोना उपचारमा एरोसोल बक्सको अवधारणा ल्याएका थिए । सोही अवधारणा अनुरुप ताईवान, फिलिपिन्स लगायत विश्वका धेरै देशमा कोरोनाको उपचारमा एरोसोल बक्सको प्रयोग भईरहेको छ । युरोपमा पनि कोरोना भाइरस संक्रमितको उपचार गर्दा एरोसोल बक्सको प्रयोग गर्ने गरिएको छ । नेपालमा पनि स्थानीय स्तरमा एरोसोल बक्स लगायतका सामग्री बनाउन थालिएको छ ।
महावीर पुनको समूहले त्यस्ता सामग्रीहरुको उत्पादन गरेको भए पनि त्यसले थेग्ने अवस्था छैन । तर काठमाडौंमै अन्य समूहहरुले पनि कोरोना उपचारमा आवश्यक सामग्री निर्माण गरिरहेका छन् ।
डिभाइन प्याकेजिड टेकु र प्रिमियर प्रिन्ट कम्पनीले संयुक्त रुपमा केही समय यता एरोसोल बक्सको उत्पादन गरिरहेका छन् । यो समूहले काठमाडौंका १० बटा अस्पताल र उपत्यका बाहिर पोखराको गण्डकी मेडिकल कलेजमा एरोसोल बक्स उपलब्ध गराईसकेको छ ।
कोरोना मात्रै नभई जुनसुकै भाईरल इन्फेक्टेड बिरामीको उपचारमा उपयोगी हुने एरोसोल बक्स काठमाडौंका गंगालाल, उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल, शिक्षण अस्पताल, ग्राण्डी अस्पताल, ब्लुक्रस, मध्यपुर ठिमी हस्पिटल, वयोधा अस्पताल, भक्तपुर क्यान्सर अस्पताललाई उपलब्ध गराएको डिभाइन डाईका प्रोपराइटर बिक्रम शाक्यले जानकारी दिए ।
एक स्थानीय डाक्टरको मागमा प्रिमियर प्रिन्टका कबीर जोशी र राजेश शाक्यसँग मिलेर आफूहरुले अन्तर्राष्टिय डिजाइन र मापदण्ड अनुरुपको एरोसोल बक्स बनाईरहेको शाक्यको भनाइ छ ।
यस बक्सको प्रयोग गरिरहेका शिक्षण अस्पतालका डाक्टर प्रमेशले बक्सको प्रयोगले उपचारमा धेरै सहज भएको बताए । यस्तै गण्डकी अस्पतालका डाक्टर तुमाया घलेले पनि एरोसोल बक्स आपूmले तयारी अवस्थामा राखेको र यसबाट उपचारमा सहज हुने बताइन् । डा घलेले एरोसोल बक्स कोराना मात्र नभई अन्य सरुवा रोगको उपचारमा पनि उपयोगी हुने बताइन् ।
यो समूहले शुक्रराज सरुवा रोग उपचार अस्पताल टेकुलाई एउटा एरोसोल बक्स उपलब्ध गराएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष बिकास डंगोलको रोहबरमा अस्पतालका डाक्टर अनुप बास्तोलालाई बक्स हस्तातरण गरिएको हो ।
डा. बास्तोलाले पनि बक्स अन्तर्राष्ट्रिय डिजाइन र गुणस्तरको अनुरुपको रहेको बताए । प्रिमियर प्रिन्टका सञ्चालक कबीर जोशीले आफ्नो ज्यानको माया नगरी कोरानासँग फ्रन्ट लाइनमा लडिरहेका डाक्टर र स्वास्थ्यकर्मीहरुको सुरक्षालाई ध्यानमा राख्दै आफूहरुले एरोसोल बनाउने पहल गरेको र त्यसमा सफल भएको प्रतिक्रिया दिएका छन् । यसबाट महामारी विरुद्धको लडाईमा सानै भएपनि योगदान गर्न पाउँदा खुशी लागेको जोशीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्