
म्याग्दी । म्याग्दीमा खेतीका लागि उर्वर खेतबारी पछिल्लो एक दशकयता झाँडीमा परिणत हुँदै गएकाे छ ।
बजारमा खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको भाउ बढेर न्यून आय भएका विपन्न वर्गलाई साँझ बिहान हातमुख जोड्न पनि मुस्किंल बन्दै गइरहेका बेला गाउँघरतिर लहलहै धानफल्ने र कोदो र मकै लगाएतका खाद्यान्न झुल्ने खेतबारी अहिले बाँझै रहेका बसेका छन् । सुविधाभोगी प्रवृत्ति, बसाइँसराइ र स्वदेशमा रोजगारको भरपर्दो माध्यम फेला पार्न नसकेर गाउँका युवाहरु रोजगारीको खोजीमा खाँडी मुलुक जाने क्रम नरोकिंदा म्याग्दीका ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझै भएको हो ।
स्थानीय तहको चुनावमा प्रायः सबै राजनीतिक दलका उम्मेदवारहरुले विकास र रोजगारीलाई प्रमुख एजेण्डा बनाएका भएपनि जिल्लाका युवाहरु भने अवसर पाए युरोप,अमेरिका नपाए खाँडी मुलुकमा भएपनि जान बाध्य छन् । चुनावको समयमा कृषि क्रान्तिका भाषण गर्ने राजनीतिक दलका नेता,जनप्रतिनिधि र सरोकारवाला सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले भू-उपयोग नीतिलाई व्यवहारिकरुपमा कार्यान्वयन गर्न नसक्दा भएको जग्गा जमिन बाँझै राखेर चर्को मूल्यमा आयातित खाद्यान्न किनेर खान बाध्य भएका हुन् ।
युवाहरु विदेशीने र शहर पलाएन हुने क्रम नरोकिंदा गाउँमा काम गर्ने जनशक्तिको अभाव भएर खेतीयोग्य जमिन बाँझै भएको हो । बाह्रै महिना खेतीपाती गरेर जीविकोपार्जन गर्ने ग्रामीण क्षेत्रका स्थानीयले अहिले भएका जग्गाजमिन बाँझै छाडेका छन् । युुवाहरु विदेशिएसँगै गाउँमा वृद्धवृद्धा, महिला र बालबालिका मात्र हुँदा खेती लगाउने समयमा जनशक्ति अभाव हुने गरेको छ । अहिले स्थानीय तहको निर्वाचनका लागि शहरबाट गाउँ आएका युवाहरु केही दिनका पाहुना जस्तै मात्र भएकाे स्थानीयवासीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्