
काठमाडौं । पदीय जिम्मेवारी लिएको महिना दिन नवित्दै ललितपुर महानगरको नयाँ नेतृत्वले महानगरकै हातामा स्थानीय कलाकौशल, खानपान र सीपकला प्रदर्शन गरी घरेलु उत्पादनमा आफ्नो रुचि रहेको छनक दिएको छ ।
कोभिडका कारण थलिएको घरेलु उद्योग ब्यूँताउने उद्देश्यले स्थानीय उद्यमीहरुको सहयोगमा प्रदर्शनी गरिएको महानगरकाे प्रदर्शनी आयाेजक समितिका अध्यक्ष शैलेन्द्र श्रेष्ठ बताउनुहुन्छ ।

प्रदर्शनीमा लत्ताकपडादेखि घरेलु सामग्रीका ५० स्टल राखिएका थिए । उद्यमी महिलाहरूले प्रदर्शनीस्थलमै परम्परागत शैलीमा आफ्नो हस्तकला देखाएका थिए । कतै चर्खा चलाएर कपडा बुनिँदै थियो भने कतै नेवारी मौलिक खानेकुरा बनाउने चटारो थियो ।
तीन दिनसम्म भएको प्रदर्शनीमा आफूहरूले सोचे भन्दा बढी अवलोकनकर्ताले प्रदर्शनीमा अवलोकन गरेको आयोजकले जनाएकाे छ ।

यस्तै, प्रदर्शनीमा आफ्नो उत्पादन बिक्रीको लागि स्टल लिएका उद्यमीहरू व्यापारका लागि भन्दा पनि प्रवर्द्धनका लागि प्रदर्शनीमा भाग लिएको बताउँछन् । यहाँ आएका ग्राहक आफ्नाे व्यापारिक थलाेसम्म आउने उनीहरूकाे विश्वास छ ।
महानगरले प्रत्येक हप्ता मौलिक प्रदर्शनी गर्ने सोच बनाएको छ । यसले स्थानीय सीप र कौशलको प्रदर्शन हुने विश्वास गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्