
बैतडी । बैतडीमा समयमै वर्षा नहुँदा यस वर्षको रोपाइँ गर्न समस्या भएको छ ।
आकाशे पानीको भरमा धान रोप्दै आएका किसान यो वर्ष पानी नपर्दा समस्यामा परेका हुन् ।
आकाशे पानी नपरेका कारण जिल्लाका अधिकांश ठाउँमा धान रोप्न बाँकी रहेको छ । ब्याड राखिएको बीउ रोप्न योग्य भएपनि पानीको अभावमा खेत बाँझै रहेको स्थानीयले बताएका छन् ।
ब्याड राखिएको बीउ रोप्न योग्य भएपनि पानीको अभावमा खेत बाँझै रहेको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका किसान मानसिंह विष्टले जानकारी दिनुभयो । रोप्नका लागि बनाइएको बेर्ना समेत पानीका मूल सुक्दै जाँदा बचाउन मुस्किल भएको छ । उहाँले भन्नुभयो, ‘हाम्रो गाउँमा सिंचाईँ सुविधा छैन् । आकाशे पानी पर्खिरहेका छौं । अहिलेसम्म धान रोप्न पाएका छैनौं, बेर्ना सक्दै गएका छन् ।’
जिल्लाका अधिकांश क्षेत्रमा आकाशे पानीको भरमा रोपाइँ गर्ने गरिएको छ ।
बेसीक्षेत्र तथा सिँचाईँ सुविधा भएका क्षेत्रहरुमा मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रचार अधिकृत नरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । रोपाइँका लागि यो उपयुक्त समय हो । वर्षा नहुँदा यो समयमा रोपाइँ गर्न सकिएको छैन् । उहाँले भन्नुभयो, ‘असार भित्र धान रोप्नका लागि उपयुक्त समय हो तर यो समयमा रोपाइँ गर्न सकिएन भने उत्पादनमा कमी हुन्छ । रोप्नका लागि बनाईएको बेर्नालाई एक महिनासम्म रोपिसक्नुपर्छ ।’ उहाँले भन्नुभयो, ‘बेर्नालाई २१ देखि ३० दिनभित्र रोपिसक्नुपर्छ, यो अवधिमा रोप्न सकिएन भने उत्पानदन कम हुन्छ ।’
यो वर्ष समयमा रोपाइँ सुरु हुन नसक्दा बेर्नाहरु सुक्दै गएका र ढिला रोप्दा रोग किराको समस्या देखा पर्ने गर्दछ । कृषि प्रचार अधिकृत चन्दले भन्नुभयो, ‘बेर्नालाई समयमै रोप्न सकिएन भने पछि गएर धानमा रोग किराले आक्रमण गर्ने, टुप्पो सुक्नेजस्ता रोग देखा पर्छन् र उत्पादनमा ह्रास आउँछ ।’
जिल्लाको सुर्नया नदी किनार, चौलानी नदी किनार, पुर्चौडीको हाट, पाटन, पञ्चेश्वरलगायतका बेंसी क्षेत्रमा रोपाइँ भएपनि अन्य क्षेत्रमा बाँकीे छ । पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न क्षेत्र, दशरथचन्द नगरपालिकाको सेरालाई धाँनखेतीको पकेट क्षेत्र हुन् ।
जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ । बैतडीको हालसम्म बढीमा १५ प्रतिशतमा मात्रै रोपाइँ भएको अनुमान कृषि ज्ञान केन्द्रको रहेको छ । बैतडीमा ९ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्