१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारले १५ अर्ब रुपैयाँ ऋण उठाउने


325
Shares

काठमाडौं । सरकारले १५ अर्ब रुपैयाँ राष्ट्र ऋण उठाउने भएको छ ।

चालु आर्थिक वर्षको राष्ट्र ऋण उठाउने कार्यतालिका अनुसार नेपाल राष्ट्र बैंकले असार ७ गते मंगलबार बोलकबोलमार्फत १५ अर्ब रुपैयाँ राष्ट्र ऋण उठाउन लागेको हो ।

पाँच वर्ष अवधिको विकास अणपत्र ‘२०८४ छ’ नाम दिइएको उक्त ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुने केन्द्रीय बैंकले जनाएको छ ।

सो विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्र धितो राखी कर्जा लिन–दिन पाइने केन्द्रीय बैंकले जनाएको छ ।

ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा आवेदन दिनुपर्नेछ ।

छुट्याइएको रकम प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् १२ अर्ब ७५ करोड र २ अर्ब २५ करोड छुट्याइएको राष्ट्र बैंकले जनाएको छ ।

यो ऋणपत्रको दोस्रो बजार कारोबार गर्न सकिने र नेपाल स्टक एक्सचेञ्जमार्फत् कारोबार हुने राष्ट्र बैंकले जनाएको छ ।