
काठमाडौं । नेपालमा इन्धनको मूल्य दक्षिण एसियाकै उच्च विन्दुमा पुगेको छ । इन्धनको मूल्यमा हुँदै आएको भारी वृद्धिका कारण सार्वजनिक सवारीसाधनदेखि चुल्हो चौकोमा समेत त्यसको प्रत्यक्ष असर परेको छ ।
आइतबारबाट आयल निगमले डिजेल र पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसको प्रत्यक्ष मारबाट नागरिक हैरान भएका छन् । हप्तैपिच्छे बढ्दै गएको इन्धन मूल्यको प्रभाव मध्यम वर्गीय परिवारको हातमुख जोर्ने समस्यामा जोडिँदा अवस्था संकटग्रस्त बनेको हो ।
आयातीत बजारले धानिएको नेपाली जनजीवन ढुवानीमा दवाव पर्नासाथ महंगीको प्रभाव चुल्होदेखि विकाससम्म पर्नेछ । त्यसैले गरिब जनताबारे सरकारले नसोची अपनाएको रवैया भन्दै उनीहरूले दुःखेसो व्यक्त गरेका छन् ।
कतिपय सवारी चालकले इन्धनको समस्यालाई चाँडो भन्दा चाँडो हटाउन माग गरेका छन् । कतिपयले विद्युतीय सवारी अहिलेको आवश्यकता रहेको बताए । उनीहरू व्यवस्थित रूपले विद्युतीय सवारी साधन प्रयोगमा ल्याउन सके इन्धन खपत कम हुने धारणा राख्छन् ।
अफगानिस्तान, पाकिस्तान र श्रीलंकाजस्ता दक्षिण एशियाली मुलुक आर्थिक दुरावस्था भोगेको समाचार सुनेका नेपाली जनता यहाँ भएको मूल्यवृद्धिबाट त्रसित बनेका छन् । वैकल्पिक ऊर्जा उपयोग गरी उनीहरूको खाना, नाना र छानाको अधिकार सुरक्षित गर्न सरकारी पहल आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्