
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले नेपाल राष्ट्र बैंकले लिएको ४/१२ को नीतिका कारण शेयर बजार निरन्तर घटेको बताउनुभएको छ ।
मंगलबार बोर्डको कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष हमालले विज्ञहरुको समेत पछिल्लो समय निरन्तर रुपमा शेयर बजार घट्नु प्रमुख कारण नेपाल राष्ट्र बैंकले लिएको ४/१२ को नीतिको भएको बताउनुभयो ।
उहाँले पुँजीगत लाभकर समेत घटाउने विषयमा अर्थमन्त्रीसँग छलफल भइरहेको बताउनुभयो । अध्यक्ष हमालले राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालय सम्मिलित अध्ययन समिति गठन भएको र उक्त समितिले दिएको सुझावअनुसार काम अगाडि बढाइने बताउनुभयो ।
अध्यक्ष हमालले विश्वका अन्य देशमा शेयर लगानीकर्ता आन्दोलन गर्दै सडकमा नआउने भन्दै नेपालमा यस्तो अवस्था आउनु दुःखद् भएको बताउनुभयो ।
उहाँले आगामी आर्थिक वर्षदेखि कुनै पनि कम्पनी मर्जरमा जाने निर्णय गरेपछि कारोबार रोकिने अवस्था हटाइने बताउनुभयो । अध्यक्ष हमालले लगानीकर्ताको सबै मागहरु पूरा गर्न सम्भव नभएको पनि बताउनुभयो ।
लगानीकर्ताले उठाएका कतिपय माग बोर्डको अधिकार क्षेत्र बाहिरको भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्