२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


एक महिनामै तीन हजार मेट्रिक टन ग्यास आयात बढ्यो

निगमले भन्यो, ‘देशमा डरलाग्दो अवस्था सिर्जना भइरहेको छ’

1.664k
Shares

काठमाडौं । देशमा एक महिनामा तीन हजार मेट्रिक टन खाना पकाउने एलपी ग्यासको आयात बढेको छ ।

बुधबार राष्ट्रिय संसदअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पछिल्लो एक महिनामा तीन हजार मेट्रिक टनले ग्यास आयत बढेको बताउनुभएको हो ।

एलपी ग्यासको खपत दिनप्रतिदिन बढिरहेकाले देशमा डरलाग्दो अवस्था सिर्जना भइरहेको थानीले बताउनुभयो । निगमले प्रति सिलिण्डर ७५१ रुपैयाँ घाटा खाएर एलपी ग्यास बेचिरहेको भन्दै उहाँले ऊर्जा व्यवस्थापन कार्यलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो ।

‘गत वर्षको चैतमा वैशाखमा ३५ हजार मेट्रिक टन एलपी ग्यास आयात भएकोमा यस वर्षको वैशाखमा ४५ हजार र जेठमा ४८ हजार मेट्रिक टन एलपी ग्यास आयात भएको छ,’ उहाँले भन्नुभयो, ‘यो डरदलाग्दो अवस्था हो, सरकराले ऊर्जा व्यवस्थापनलाई गम्भीरतापूर्वक लिनुपर्छ ।’

तत्काल ऊर्जा व्यवस्थापनमा गम्भीर नबने मुलुक आर्थिक रूपमा पनि ठूलो समस्यामा फस्ने थानीको चेतावनी छ । श्रीलंकाले आफ्नो अवस्थाबारे जनतालाई जानकारी नगराएकाले आर्थिक संकट व्यहोरेको भन्दै उहाँले बेलैमा देशको आर्थिक अवस्थाबारे जनतालाई जानकारी दिनुपर्ने बताउनुभयो ।

कार्यकारी निर्देशन थानीले अहिलेको विद्युत महशुल तिरेर कसैले विद्युतीय चुलो नबाल्ने भन्दै महशुल घटाएर नागरिकलाई विद्युतीय सामग्रीको प्रयोगमा प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । अहिलेकै अवस्थामा विद्युत् महशुलभन्दा एलपी ग्यास सस्तो उहाँको दाबी छ ।