१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनगढीमा खाेलानालामाथि भएकाे अतिक्रमण हटाइँदै


208
Shares

कैलाली । धनगढी उपमहानगरपालिकाले खोलानालामाथि भएको अतिक्रमण हटाउने भएको छ । धनगढी डुबानको मुख्य कारण खोलानाला अतिक्रमण भएको निष्कर्षमा पुगेपछि अतिक्रमित क्षेत्र खाली गर्न लागिएकाे हो ।

जिल्लामा केही वर्षयता खोलानाला अतिक्रमण भएका कारण धनगढी जलमग्न हुने गरेको छ । क्षणभर परेकै पानीले कैलालीको धनगढी डुवानमा पर्न थालेपछि अहिले खोलानाला अतिक्रमण हटाउन सुरु गरिएकाे हाे ।

पटक-पटक खोलानाला अतिक्रमण हटाउने अभियान थालिए पनि सार्थकता पाउन सकेको थिएन । २०७४ सालको निर्वाचनमा मेयरमा विजयी भएका नृपबहादुर वडकाे पहिलो निर्णय नै अतिक्रमण हटाउने थियाे । तर, त्याे कागजमै सीमित भयाे ।

अहिले निर्वाचित जनप्रतिनिधिहरूले भने अभियानकै रूपमा अतिक्रमण हटाउन सुरु गरेका छन् । अतिक्रमण नहटाउँदासम्म धनगढी डुबानको समस्या समाधान नहुने भएकाले अतिक्रमित क्षेत्र खाली गर्न थालिएको उपमहानगरपालिकाका मेयर गोपाल हमालले बताउनुभयो ।

प्राकृतिक बहाबलाई रोक्ने गरी बनाइएका संरचना सूचना दिएर नै भत्काउन सुरु गरिएको हो । डुबानको समस्यालाई समाधन गर्नका लागि सबैभन्दा पहिले प्राकृतिक कुलो र खोलालाई पुरानै बहावमा बग्न दिन आवश्यक रहेको उहाँको भनाइ छ ।

धनगढी उपमहानगरपालिका–५ तारानगरस्थित बालबिहानीबाट खोलानाला अतिक्रमण हटाउने कार्य सुरु भएको छ । खोलानाला अतिक्रमण हटाउने कार्यमा सहयोग गरिदिन उपमहानगरपालिकाले धनगढीबासीलाई आग्रह गरेकाे छ ।

धनगढीलाई डुबानबाट जोगाउने उपमहानगरपालिकाको अभियानमा साथ दिन आग्रह गर्दै अतिक्रमित क्षेत्र आफैँ हटाउन पनि आग्रह गरेको छ । अतिक्रमण हटाउन सुरु भएपछि धनगढीबासी खुसी भएका छन् ।

धनगढीको कैलाली खोला सबैभन्दा बढी अतिक्रमणको चपेटामा परेको छ । खोलाको केही क्षेत्रमा घर बनिसकेका छन् भने केहीमा शौचालय, करेसाबारी र पर्खाल निर्माण गरी अतिक्रमण भएको छ ।