१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रज्ञा प्रतिष्ठानलाई आर्थिक सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता


91
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाइलाई मध्यनजर गर्दै सरकारले सहयोग गर्ने बताउनुभएको छ ।

बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानको ६५औं वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाइलाई समाधान गर्न सरकारले सहयोग गर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले यसका लागि आवश्यक सल्लाह गरेर सहयोग गर्ने विश्वास दिलाउनुभयो । उहाँले मुलुकको भाषा, साहित्य र संस्कृति प्रवर्द्धनको क्षेत्रमा प्रतिष्ठानलाई अगाडी बढाउने नयाँ सोच र कार्यक्रमलाई कार्यान्वयन गर्न सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र सम्वर्द्धनमा प्रज्ञा–प्रतिष्ठानले खेलेको भूमिकाको उहाँले प्रशंसा गर्नुभयो ।

त्यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी आर्थिक वर्षको लागि प्रज्ञा–प्रतिष्ठानको बजेट घटाएर पठाएकोप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल प्रज्ञा– प्रतिष्ठानको संरक्षकसमेत रहनुभएका उहाँले प्रज्ञा–प्रतिष्ठानले थुप्रै साहित्यिक कामहरू र रचनाहरू प्रकाशित गर्ने गरेको उल्लेख गर्दै थप कृति र रचनाको प्रकाशन गर्नका निम्ति बजेटको माग गर्नुभयो ।

मन्त्री आलेले नेपाल–प्रज्ञा प्रतिष्ठानले नेपाली कला, साहित्य र संस्कृतिको क्षेत्रमा गरेको कामहरूको प्रशंसा गर्नुभयो ।