
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान, अवतरणको चाप बढेपछि जहाजको रात्री विश्राम उपत्यका बाहिर तोकेसँगै सरकार र वायुसेवा सञ्चालकबीच खस्रोमसिनोको अवस्था आएको छ ।
पार्किङले धान्नेभन्दा बढी विमान र यात्रुको आउजाउ हुनु एउटा कारण भए पनि पुराना काम नलाग्ने जहाजले जमिन ओगट्दा यहाँको समस्या थप जटिल बनेको हो । वर्षौंदेखि बिग्रिएका १७ वटा जहाज र हेलिकोप्टरका कारण विमानस्थल कवाडीखाना बनेको भान हुन्छ ।
साँघुरो विमानस्थल थप जोखिमपूर्ण बनाउन पुराना जहाज कारण बनेका छन् । यहाँ रहेका केही जहाज मर्मत गरेर सञ्चालनमा ल्याउन मिल्ने अवस्थामा छन् भने कुनै पाटपुर्जा निकालेर कवाडीमा बिक्री भइसकेका छन् ।

फोहोरका रूपमा रहेका जहाज र हेलिकोप्टर यहाँबाट व्यवस्थापन गर्न कसैको चासो देखिँदैन । कति कम्पनी त अहिले अस्तित्वमै छैनन्, तर ती कम्पनीका जहाज भने अस्थिपञ्जर झैं उभिएका छन् ।
विमानस्थललाई कवाडी बनाउन सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमदेखि निजीक्षेत्रका वायुसेवा कम्पनीका जहाजको भूमिका देखिन्छ । यस्ता विमान हटाउन पटक–पटक ताकेता गर्दा पनि विमान सञ्चालकहरूले अटेर गरेको विमानस्थल सञ्चाल विभागका टेकनाथ सिटौला बताउनुहुन्छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक ३० देखि ४० हजार यात्रु आवतजावत गर्छन् । अन्तर्राष्ट्रियतर्फ दैनिक ६५ र आन्तरिकतर्फ दैनिक २ सय ७० उडान र अवतरण हुने गरेको छ ।

यति ठूलो दवाव धान्नुपर्ने विमानस्थलको ट्राफिक समस्या टड्कारो देखिरहँदा विमानस्थलको पूर्वमा रहेको आइसोलेशन पार्किंङमा हाल बिग्रिएका १७ वटा विमान अलपत्र अवस्थामा थन्किएर बसेका छन् ।
एकातिर विमान पार्किङका लागि ठाउँ नभएको कारण देखाएर अन्यत्र रात्री विश्रामको निर्णय गर्नु र अर्कातिर विमानस्थलको मुख्य पार्किङस्थललाई बिग्रेका जहाजको कवाडीखाना बनाउनु कहाँसम्म न्यायसङ्गत हो ? यसतर्फ सरोकारवालाहरुको ध्यान जान जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्