२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


त्रासमा जिउन बाध्य अफगानीमाथि अर्को बज्रपात

भूकम्पबाट महिला र बालबालिका सबैभन्दा बढी प्रताडीत

143
Shares

काठमाडौं । १० महिना अघि तालिबानको सरकार बनेपछि कडा नियमका बीच जिउन बाध्य अफगानी जनताले भूकम्पको नियती भोग्नुपरेको छ ।

मस्त निद्रामा आएको भूकम्पले उनीहरूको जीवन झन तहसनहस त बनायो नै भोकमरी र गरिबीको रेखामुनि रहेकामध्ये १ हजार बढीको जीवन लिला राताराम समाप्त भयो । घाइतेहरुको संख्या नगण्य छ ।

६.१ म्यानिच्यूडको विनाशकारी भूकम्पले खुला आकाशमुनि बसेका, झुपडी र पक्की संरचनामा बसेकाहरूको जीवन नराम्ररी प्रभावित बनाएको छ । भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको दुर्गम क्षेत्र भग्नावशेषमा परिणत भएको छ ।

न राहतको व्यवस्था न त उचित बासस्थान नै । तैपनि भग्नावशेष पन्छाउन तत्पर छन् अफगानी नागरिक । हुनत विश्वका थुप्रै राष्ट्रहरूमा आइपर्ने यस्ता प्राकृतिक विपत्तिले कतिपयको जीवन समाप्त हुने र घरबारविहीन नहुने होइन ।

फरक यति हो, अफगानिस्तान तालीबानी सरकारको स्वामित्वमा गएपछि डर र त्रासका बीच जिन्दगी गुजारिरहेकाहरूलाई दैवले दिएको यो सास्तीमा अधिकांश महिला र बालबालिका पिल्सिएका छन् ।

उत्तर एटलान्टिक सन्धि संगठन नेटो र अमेरिकी सेना फिर्ता भएपछि देशको स्वास्थ्य प्रणाली ध्वस्त भएको अवस्थामा भूकम्पका घाइतेहरू राम्रो उपचार र ओखतीमुलो पाएका छैनन् ।

अन्तर्राष्ट्रिय वित्तीय सहयोग पनि लगभग रोकिएका अवस्थामा भूकम्पपीडितहरूल मानविय सहायताका लागि अन्तराष्ट्रिय समुदाय गुहारेका छन् ।

भूकम्पमा पुरिएका आफ्ना सन्तान र सरसामान हातले नै पन्छाएको दृश्य निकै दर्दनाक छ ।

भूकम्पको चपेटामा परेका कतिपय निर्दोष बालबालिका भने भूकम्पग्रस्त क्षेत्रमा तमासे बनेका छन् । एक सरो लाज ढाक्ने कपडामा रहेका उनीहरूको गाँस, बास र कपास समेत छिनिएको अवस्था छ ।

एक त राजनीतिक दाउपेचका कारण अध्ययन अध्यापनमा एकरूपता नहुँदा विश्वका अन्य बालबालिकाको तुलनामा शिक्षा, स्वास्थ्य र खानपानमा ठगिएका उनीहरू पुनः भूकम्पको मारमा पर्दाको पीडा शब्दमा बयान गर्न सकिँदैन ।

एजेन्सीको सहयोगमा