२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


धरान उपमाहानगरपालिकाले ल्यायो १ अर्ब ६८ करोडको बजेट


611
Shares

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्ब ६८ करोड ५८ लाख २३ हजार बजेट विनियोजन गरेको छ ।

शुक्रबार धरानको एघारौं नगरसभामा उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले बजेट प्रस्तुत गर्नुभएको हो ।

कुल बजेटमध्ये चालुतर्फ ८३ करोड ३७ लाख ७२ हजार ४ सय ४२ रुपैयाँ र पुँजीगतर्फ ८१ करोड ९५ लाख ५० हजार ५ सय ५८ रुपैयाँ र वित्तीय व्यवस्था तर्फ ३ करोड २५ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

आगमी आर्थिक वर्षका लागि खर्च बेहोर्ने श्रोत मध्य आन्तरिक राजस्वबाट २५ करोड, संस्थागत आन्तरिक अनुदान ५ करोड २० लाख, संघीय सरकारबाट ८३ करोड ४ लाख प्रदेश सरकारबाट ३ करोड ५० लाख ७० हजार संघीय राजस्व वाँडफाँटबाट २० करोड ५३ लाख ४५ हजार, प्रदेश राजश्व बाँडफाँटबाट २० करोड र अपुगहुने ११ करोड ३० लाख ८ हजार नगद मौज्दात परिवर्तनबाट व्यवस्थापन गरिने उपप्रमुख बेघाले बताउनुभयो ।

धरान उपमहानगरले खानेपानी, पूर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास र विपद व्यवस्थापनलाई प्राथामिकतामा राखेर बजेट विनियोजन गरेको छ । धरानका २० वटै वडाहरुमा प्रशासनिक तर्फ २ करोड ५० लाख र कार्यक्रम तथा पुँजीगततर्फ २९ करोड रकम विनियोजन गरिएको छ ।

शहरी योजना तथा भौतिक पूर्वाधार विकासका लागि २९ करोड १० लाख र शिक्षा युवा तथा खेलकुद तर्फ ४० करोड ९७ लाख विनियोजन गरिएको छ । स्वास्थ्यतर्फ ४ करोड २ लाख, सामाजिक विकास तर्फ ५ करोड ८२ लाख २३ हजार, आर्थिक विकास तर्फ २ करोड ७२ लाख तथा वन वातावरण ऊर्जा तथा विपद व्यवस्थापनतर्फ १ करोड ६८ लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, पर्यटनतर्फ ३० लाख, सूचना तथा सञ्चारतर्फ २५ लाख र साहित्य कला संस्कृतितर्फ १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । धरानको अव्यवस्थित तथा सुकुम्बासी बस्ती व्यवस्थापनतर्फ २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्यस्तै मेयर कोषमा १ करोड २० लाख उपमेयर कोषमा ८० लाख पूर्वाधार साझेदारी कार्यक्रममा ७५ लाख, विपद व्यवस्थापन कोषमा ५० लाख, आकस्मिक कोषमा ५ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक लगायतका शीर्षकमा ४० करोड रकम विनियोजन गरेको उप–प्रमुखले प्रस्तुत गरेको बजेट भाषणमा उल्लेख छ ।