१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकी सिनेटबाट बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित


689
Shares

एजेन्सी । अमेरिकाको माथिल्लो सदनले बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित गरेको छ ।

अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा भएको मतदानमा विधेयकको पक्षमा ६५ र विपक्षमा ३३ मत परेको थियो । पन्ध्र जना रिपब्लिकन विधायकले पनि विधेयकको पक्षमा मतदान गरेका थिए ।

तीन दशकपछि बन्दुक हिंसा नियन्त्रणसम्बन्धी विधेयक पारित भएकामा खुशी व्यक्त गर्दै राष्ट्रपति जो बाइडेनले विद्यालयमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न समुदायलाई सुरक्षित बनाउन मद्दत पुग्ने बताउनुभयो ।

अब तल्लो सदनमा प्रस्तुत हुने विधेयक अनुमोदनपछि राष्ट्रपतिले प्रमाणीकरण गर्नुहुनेछ । राष्ट्रपतिबाट विधेयक स्वीकृत भएपछि विधेयक कानुनमा रुपान्तरण हुनेछ । राष्ट्रपति बाइडनले विधेयकमा शीघ्र मतदान हुनुपर्ने बताउनुभएको छ ।

टेक्सासको उभल्देस्थित एक प्राथमिक विद्यालयमा १९ जना बालबालिका र दुई जना शिक्षक बन्दुकको हिंसामा मारिएको ठ्याक्कै एक महिना पछि आज १३ अर्ब डलरको प्याकेज समेटिएको उक्त विधेयक मतदानका निम्ति प्रतिनिधिसभामा प्रस्तुत हुँदैछ ।

मानसिक स्वास्थ्य, विद्यालय सुरक्षा, पत्कालीन अवस्थामा तत्काल हस्तक्षेप गर्ने अधिकारसहितका कार्यक्रम, आपराधिक पृष्ठभूमि जाँच प्रणालीमा किशोरकिशोरीका अभिलेख समावेशलगायत प्रावधान प्याकेजमा समावेश गरिएको छ ।

३९ करोड अमेरिकीसँग बन्दुक रहेका तथा सन् २०२० मा मात्र बन्दुकसम्बन्धी हिंसामा परी ४५ हजारभन्दा बढी अमेरिकी नागरिकको मृत्यु भएको थियो । यो झण्डै ३० वर्षयताकै हतियारसम्बन्धी सबैभन्दा महत्वपूर्ण कानुन हो ।