
पोखरा । नेकपा (एमाले)ले बजेट पुस्तिका च्यातेपछि पोखरा महानगरपालिकाको नगरसभा अवरुद्ध भएको छ ।
बजेट पारित हुनुअगावै रातो किताबमा प्रकाशन गरिएको भन्दै एमाले तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले विरोध जनाएपछि बजेट प्रस्तुत हुने कार्यक्रम प्रभावित भएको हो । महानगरले शुक्रबार करिब साढे ८ अर्बको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।
शुक्रबार अपराह्न साढे ४ बजे नगरसभा हुनेबित्तिकै एमाले दलको नेता राधिका शाहीले रातो किताब च्यात्दै बजेटमा आफूहरूको सहभागिता नहुने बताइन् । एमालेले बजेट पारित हुनुअगावै रातो किताब प्रकाशन गरिएको भन्दै आपत्ति जनाएको छ ।
मेयर धनराज आचार्यले किताब मस्यौदामात्र भएको र अन्तिम रातो किताब नभएको बताउनुभयो ।
‘महानगरको नम्बर नघटोस् भनेर ‘लिजा’ (स्थानीय तह स्वमूल्यांकन प्रणाली)मा चढाउनका लागि लेखा शाखाले नियमित कामका क्रममा बजेट ड्राफ्ट तयार गरेको हो,’ मेयर आचार्यले भन्नुभयो ।
यस विषयमा उपमेयर मञ्जुदेवी गुरुङले रातो किताब किन प्रकाशन गरियो भन्नेमा आफूसमेत अनभिज्ञ रहेको बताउनुभयो । उहाँले रातो किताब किन भनियो भन्दै प्रश्नसमेत गर्नुभएको थियो ।
एमाले तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले आफूहरूको अधिकार सुनिश्चित हुनुपर्ने माग गरेका छन् । मेयरको जवाफबाट चित्त नबुझेपछि एमाले जनप्रतिनिधिहरू पोखरा सभागृहबाहिर नाराबाजीमा उत्रिएका छन् ।
एमालेको नाराबाजीपछि मेयर आचार्यले १० मिनेटका लागि नगरसभा स्थगित भएको घोषणा गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्