
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जितपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत शिवराज सेढाईंविरुद्ध १ करोड ६६ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार सेढाईंले न्यू पाथिभरा सप्लायर्स, हेटौडासँगको सम्झौताका शर्त पूरा नहुँदासमेत उपमहानगरपालिकाका कर्मचारीको संलग्नतामा बालगङ्गा खोलाको गिट्टी, बालुवा उत्खनन एवं बिक्री वितरण गर्न दिएको आरोप छ ।
आर्थिक वर्ष २०७६/७७ मा ठेकेदारको तर्फबाट कबोल बमोजिम अभिवृद्धि कर रकम ४६ लाख ४४ हजार रुपैयाँ दाखिला गरेको नदेखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी, उपमहानगरपालिका–१६ मा रहेको पसाहा खोलाको गिट्टी, बालुवा उत्खननका लागि ओम सप्लायर्सलाई ठेक्का दिएर गैरकानुनी कार्य गरेको आरोप सेढाईंमाथि छ ।
सोही आर्थिक वर्षमा सम्झौता अनुरूपको बाँकी दुई किस्ताको रकम ९९ लाख ९९ हजार ९९९ रुपैयाँ हालसम्म दाखिला हुन नसक्दा उपमहानगरको राजश्व चुहावट भएको देखिएको आयोगको जिकिर छ ।
सम्झौता रकमको मूल्य अभिवृद्धि कर ३८ लाख ९९ हजार ९९९ रकमसहित सो खोलामा एक करोड ३८ लाख ९९ हजार ९९८ रुपैयाँ पसाह खोला सम्झौतामा भ्रष्टाचार भएको आयोगको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्