१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संघ प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धन आवश्यक : माधव नेपाल


117
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धनको आवश्यक रहेको बताउनुभएको छ ।

अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका गठबन्धनमा आवद्ध दलका नेताहरूले संघ र प्रदशको चुनावमा पनि गठबन्धन गरेरै जान आफूलाई आग्रह गरेको उल्लेख गर्दै त्यसलाई कायमै राखेर अघि बढ्न आफ्नो पार्टी तयार रहेको बताउनुभयो ।

शनिबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उहाँले गठबन्धनसँग तालमेल गरेर र आफ्नै बलमा पनि संघ र प्रदेशको निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण हुने गरी सिंगो पार्टी पंक्तिलाई परिचालित हुन पनि आह्वान गर्नुभयो ।

अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनका कतिपय दलहरूले आफ्नो पार्टीलाई अपमानजनक व्यवहार गरेको भए पनि संघ र प्रदेशको निर्वाचनमा त्यस्तो नगर्ने प्रतिवद्धता जनाएको पनि बताउनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचनमा पार्टी भित्रकै कमजोरीका कारण अपेक्षित परिणाम आउन नसकेको कुरालाई स्विकार गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।