८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


म्याग्दीका किसानले तरकारी बेचेर वार्षिक ८ लाख बढी कमाए


130
Shares

म्याग्दी । म्याग्दीका किसानले तरकारी बेचेर वार्षिक ८ लाख भन्दा बढी रुपैयाँ कमाएका छन् ।

जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताएपनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका हरिलालको जीवनको उत्तरार्धमा बल्ल हरियाली छाउन थालेको छ । म्याग्दीको बेनी नगरपालिका–२ बन्चरेढुङ्गाका ५१ वर्षिय हरिलाल घिमिरेको युवा अस्था साउदी अरबको चर्को घाममा पसिना बगाउँदैमा बित्यो ।

तीन दशक अघि २० वर्षे उमेरमा गरीबिका कारण साहुसँग ऋण लिएर मुग्लानको बाटो समाएका घिमिरेले दश वर्ष साउदी अरब र ५ वर्ष भारतमा पसिना बगाएपनि खासै राम्रो कमाइ गर्न नसकेपछि घर फर्किनुभएकाे हाे । घर फर्केर हलो र कोदाली बोकी आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि भने घिमिरेको जीवनमा हरियाली छाउन थालेकाे छ ।

हरिलालजस्तै बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरे, सोही ठाउँका चन्द्रबहादुर कार्की र फापर खेतका नविन घिमिरेले गाउँकै माटोमा विदेशको भन्दा बढी खुशीको महक प्राप्त गर्न सफल भएका छन् ।

गाउँकै माटोमा तरकारी, फलफूल र पशुपंक्षीपालनमार्फत खुशी र समृद्धि आर्जन गरेका यी घिमिरे दाजु भाइमात्र होइनन्, जिल्लामा कैयौँ युवाहरु छन् । रहरले होओस् वा बाध्यताले नेपालीहरू पैसा कमाउनका लागि दैनिक सयौँ युवा विदेशी भूमिमा जाने गर्दछन् ।

अधिकांश नेपालीहरू विदेशी भूमिमा आफ्नो पसिना बगाइरहेका छन् । तर, पछिल्लो समय आफ्नै देशमा केही गर्नुपर्दछ भनेर स्वदेश फर्कनेको पनि लर्को नै छ । आफ्नो देशमै केही गर्ने र परिवारसँगै बस्ने योजनाले ९ वर्ष साउदी अरबको बसाइलाई बिट मारेर स्वदेश फर्केका रोहोटेका ४८ वर्षिय चन्द्रबहादुर घिमिरेले अहिले साउदी अरबको भन्दा दुई गुणा बढी आम्दानी गर्न सफल हुनुभएकाे छ ।

उहाँले भन्नुभयाे, ‘सुुरु-सुरुमा तरकारी खेतीबाट खासै राम्रो कमाइ गर्न नसके पनि मैले हिम्मत हारिन’ कतिले मलाई विदेशमा त कमाउन नसकेको मान्छेले जाबो माटोमा पसिना बगाएर के कमाउला भनेर गिज्याए पनि तर, म आफ्नो काममा लागिरहे।’

विसं २०६६ सालदेखि व्यावसायिक रुपमा प्राङ्गारिक तरकारी खेती गर्दै आउनुभएका घिमिरेले ८ रोपनी जग्गामा गोलभेँडा, करेला, साग, भण्टा, रामतोरिया, बोडी, बन्दागोभीलगायतका मौसमी तथा बेमौसमी तरकारी लगानुभएकाे छ । तरकारी बिक्री गरेर वार्षिक ८ लाख रुपैयाँ भन्दा बढी कमाइ हुने गरेको उहाँले बताउनुभएकाे छ ।

उहाँले भन्नुभयाे, ‘यही माटोमा पसिना बगाउन थालेपछि मैले बुझे विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाउने हो भने पैसा यही फल्दोरहेछ,’ ‘उमेर ढल्केपछि मलाई चेत आयो तर, मैले मेरा छोराहरुलाई समयमा नै चिनाइ दिएँ पैसा फलाउने माटो र छेकी दिए मुग्लान जाने बाटो ।’

अहिले घिमिरेको खेत बारीमा गोलभेँडा, काँक्रो, करेला लटरम्मै छ । खेतबारीमा फलेको तरकारीसँगै घिमिरेको घरपरिवारमा खुशी र सन्तुष्टि पनि छाएको छ । दुई भाइ छोरा, श्रीमती र आफू गरी परिवारका चार सदस्यले तरकारीको स्याहार गर्ने, गोडमेल गर्ने, टिप्ने र बजारमा लगेर बिक्री गर्दै आएका छन् ।