१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एमालेको अवरोधपछि बागमती प्रदेश सभा बैठक स्थगित


0
Shares

काठमाडौं । नेकपा एमालेको अवरोधपछि बागमती प्रदेश सभा बैठक सोमबार ११ बजेसम्मका लागि स्थगित भएको छ ।

एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दिपक निरौलाले दलको तर्फबाट आफ्नो धारणा राख्दै आफुहरुको माग सम्बोधन नभएसम्म बैठक चल्न नदिने चेतावनी दिनुभयो । त्यससँगै सभामुखले सोमबारसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट विभेदकारी रहेको र न्यायोचित रुपमा जिल्लाहरूलाई नसमेटिएको भन्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।

सभामुख सानुकुमार श्रेष्ठले आर्थिक मामिला मन्त्री शालिकराम जम्कट्टेललाई आर्थिक विनियोजन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव राख्न अनुमति दिएसँगै एमाले सांसदहरु आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए ।

बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लालाई प्राथमिकता दिइ अन्य जिल्लालाई उपेक्षा गरिएको एमालेको आरोप छ ।