
काठमाडौं । कारो फिल्म्सले निर्माण गर्ने भनिएको नेपाली फिल्म ‘लू’ लाई प्रदीप भट्टराईले निर्देशन गर्ने भएका छन् ।
‘जात्रा’, ‘शत्रुगते र ‘जात्रै जात्रा’ जस्ता सुपरहिट फिल्म बनाएका निर्देशक भट्टराई यतिबेला फिल्म ‘महापुरुष’ को निर्देशनमा ब्यस्त छन् । त्यसपछि उनले फिल्म ‘लू’ लाई निर्देशन गर्ने भएका छन् ।

भट्टराइले पहिलो पटक पुस्तकमाथि निर्माण हुन लागेको फिल्मको निर्देशन गर्न लागेका हुन् । ‘लू’ नयनराज पाण्डेद्वारा लिखित उपन्यास हो । फिल्म निर्मात्री निशा खरेल र निर्देशक भट्टराइबीच फिल्म निर्देशन गर्नेबारे लिखित सहमति भएको हो ।
पाण्डेद्वारा लिखित प्रसिद्ध उपन्यास ‘लू’ को अधिकार कारो फिल्म्सले केहि समय अघि लिएको थियो । कारो फिल्म्सले केहिदिन अघिमात्रै संगीत निर्देशकका रूपमा कालीप्रसाद बास्कोटालाई आबद्ध गरेको थियो । उपन्यास ‘लू’ पश्चिम नेपालको सीमाक्षेत्रका वासिन्दाले भोग्नुपरेको कथामा आधारित छ । ‘लू’ मा यसअघि नै नाटक मञ्चन भैसकेको छ ।फिल्मका लागि अन्य कलाकारहरू भने अझै छनोट भैसकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्