२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


नेपाललाई रणनीतिक गठबन्धनमा प्रवेश नगराउने परराष्ट्रमन्त्रीको प्रतिवद्धता


39
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाललाई कुनै पनि सामरिक वा रणनीतिक गठबन्धनमा प्रवेश नगराउने बताउनुभएको छ ।

सोमबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक २०७९ मा परराष्ट्र मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले नेपालको राष्ट्रिय हित र असंलग्न परराष्ट्र नीतिको विपरीत हुनेगरी कुनै पनि सामरिक वा रणनीतिक गठबन्धनमा नेपाललाई प्रवेश नगराइने बताउनुभएको हो ।

उहाँले सरकारले अवलम्बन गरेका नीतिका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति थप प्रभावकारी देखिएको दाबी गर्नुभयो ।

मन्त्री खड्काले अन्तर्राष्ट्रिय सीमाको नियमित रूपमा निरीक्षण गर्नेगरी सरकारले कार्यक्रम तय गरेको बताउनुभयो । उहाँले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका नेपाल–भारत सीमा सम्बन्धी समस्या समाधानका लागि सरकारले भारतसँग कुटनीतिक स्तरमा वार्ताको प्रयास भइरहेको जानकारी दिनुभयो ।

मन्त्री खड्काले मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, स्वाधिनता, सिमानाको सुरक्षा र सीमा व्यवस्थापन जस्ता विषयहरूमा सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो ।