
काठमाडौं । क्यानडाविरुद्धको दुई एक दिवसीय खेल र आईसिसि विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमण गर्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमबार बिदाई गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक कार्यक्रमको आयोजना गरेर सन्दिप लामिछानेको कप्तानीमा रहेको १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरेको हो ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह लगायतले बिदाई गर्नुभयो ।
नेपाली टोलीले आगामी असार २९ बाट स्कटल्याण्डमा हुने विश्वकप लिग–२ तथा सो प्रतियोगिता अघि क्यानडामा रहेको स्थानीय एक क्लवसँगको अभ्यास खेल तथा क्यानडाको राष्ट्रिय टोलीसँग हुने एकदिवसीय खेल खेल्ने तालिका छ ।
घोषणा भएको टोलीमा नयाँ दुई अनुहार बाहेक अधिकांस अमेरिका सिरिजमा रहेका खेलाडी समेटिएका छन् । टोलीमा पवन सर्राफले पुनरागमन गरेका छन् भने वासिर अहमदले एकदिवसीय टोलीमा पहिलो पटक मौका पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्