१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वामदेव गौतमद्वारा पार्टी घोषणा, आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने टिप्पणी


1.131k
Shares

काठमाडौं । नेकपा (एमाले)का पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टीको घोषणा गर्नुभएको छ ।

गौतमले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान नामको नयाँ राजनीतिक दल घोषणा गर्नुभएको हो । गौतम संयोजक रहेको पार्टीमा ७५ जना केन्द्रीय सदस्य रहेका छन् ।

त्यसमध्ये यो पार्टी समन्वय समितिको रूपमा रहँदासम्म केन्द्रीय सचिवालयमा ८ सदस्यहरू रहने जनाइएको छ । पार्टीको संयोजकमा बामदेव गौतम, सचिवमा डीबी कार्की र सदस्यहरूमा ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् ।

पार्टीले संयोजक र सचिव बाहेक सबैजना सदस्यको रूपमा रहने बताइएको छ । नेकपा विभाजन पश्चात छुट्टै अभियानमा रहनुभएका गौतमले आफू पक्षधरको भेला गर्दै आउनुभएको थियो । नेकपालाई पुनर्जीवित गर्ने प्रयासमा रहनुभएका गौतमले एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गर्नुभएको हो ।

पार्टी घोषणा कार्यक्रममा बोल्दै गौतमले आफूले नेतृत्व गरेको पार्टी आज शिलान्यास मात्रै भएको भन्दै उद्घाटन गर्ने बेलासम्ममा नेपाल नै चकित हुने जिकिर गर्नुभयो । कम्युनिस्टहरूलाई एक ढिक्का बनाइछाड्ने उहाँको उद्घघोष छ ।

कम्युनिस्टहरूले एकता वा कार्यगत एकता गर्न नसके आगामी निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउन सक्ने संयोजक गौतमको भनाइ छ ।

आउँदो निर्वाचनमा गठबन्धनको आडमा कांग्रेस पहिलो पार्टी भए त्यसको ५ वर्षसम्म संघ र प्रदेशमा नेपाली कांग्रेसकै नेतृत्वमा संरचनाहरू रहने भन्दै उनले त्यसपछि कांग्रेसलाई दोस्रो निर्वाचनमा गठबन्धनको आवश्यकता नपर्ने उहाँको भनाइ छ ।

आफूमाथि पदलोलुप र परिवारवादको आरोप लागेको भन्दै त्यसमा कुनै सत्यता नभएको गौतमले स्पष्टीकरण दिनुभयो । आफूले पदमा बसिरहने तीव्र आकांक्षा पुरा गर्नका लागि पार्टी खोल्न नलागेको बताउनुभयो ।