
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले चलचित्र निर्माता व्यवसायीहरुलाई प्रोजेक्ट कर्जा दिने सुविधा दिनुपर्ने बताउनुभएको छ ।
मंगलबार उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरन्जन फोरम र नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको चलचित्र गीत संगीतको सरोकार,कानून र करको अधिकार विषय कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताउनुभएको हो ।
उहाँले चलचित्र निर्माताहरुले घर धितो राखेर ऋण लिएर चलचित्र निर्माण गर्दा निर्माताहरुको निकै ठूलो क्षति भोग्नु गरेको बताउनुभयो । अध्यक्ष गोल्छाले उद्योग वाणिज्य महासंघले प्रोजेक्ट कर्जा चलचित्र निर्माता, साना र मझौला उद्योगहरुको लागिसमेत माग गरेको बताउनुभयो । उहाँले कोरोना महामारीको कारण भएको बन्दाबन्दी र निषेधाज्ञाको अवधिको विद्युत महशुल पूर्णरुपमा छुट तथा पुनः कर्जा उपलब्ध गर्ने काजगजात प्रक्रियागत हुने झनझटलाई सहज वातावरणको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
अध्यक्ष गोल्छाले नेपाल प्राकृतिक सुन्दरताले भरिएको भन्दै आन्तरिक मात्रै नभएर अन्तर्राष्ट्रिय सिनेमा छायाङ्कनको लागि समेत आकर्षणको केन्द्र बन्नसक्ने बताउनुभयो ।
अध्यक्ष गोल्छाले सरकारले घोषणा गरेका नीति तथा कार्यक्रमहरु शतप्रतिशत रुपमा कार्यान्वयन हुनसके मात्रै चलचित्र क्षेत्रको समस्या समाधान हुने बताउनुभयो । उहाँले चलचित्रले हाम्रो सोचलाई प्रभावित र राज्यप्रति मानिसहरुको सद्भाव र प्रेम चलचित्रको माध्यमबाट उठ्ने भएकाले चलचित्रको विकास आवश्यक रहेको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्