
नवलपुर । नवलपुरमा यसवर्ष चैते धानको राम्रो उत्पादन भएको छ ।
यतिबेला किसानलाई धान स्याहार्ने चटारो छ । तर उत्पादित धान बिक्री गर्न भने बजारको समस्या भएकाले उनीहरू चिन्तित भएका छन् ।
नवलपुरका किसानलाई यतिबेला चैते धान स्याहार्ने चटारो छ । नवलपुरमा यसवर्ष चैते धानको राम्रो उत्पादन भएको छ । तर धान स्याहार्ने बेलामा दिनहुँ वर्षा भएकाले एकातिर किसानलाई धान स्याहार्न अफ्ठ्यारो भएको छ भने अर्कोतिर उत्पादित धानको बिक्री गर्न बजारको समस्याले उनीहरू चिन्तित भएका छन् ।
कावासोती-१४ की किसान टिका महतोले जिल्लामा ‘धान ब्लक कार्यक्रम’ सञ्चालन भएपछि चैते धान निकै राम्रो उत्पादन भएको बताउनुहुन्छ । तर बिक्री गर्न भने समस्या भएको उहाँको भनाइ छ ।
नवलपुरका किसानलाई वर्षामा उत्पादन हुने धानले खान पुग्छ । उनीहरू चैते धान बिक्री गर्छन् । तर बिक्री गर्न सधैँ समस्या हुने गरेको उनीहरूको गुनासो छ । ढुटो किन्दा ४० रुपैयाँ किलो पर्छ भने धान बेच्दा २८ रुपैयाँ किलो पर्ने किसान भेदराज गुरौले बताउनु भयो ।
जिल्लामा कृषि ज्ञान केन्द्र मार्फत धान ब्लक कार्यक्रम सञ्चालन गरिएको छ । कावासोती नगरपालिकाको वडा नं १४ र १७ तथा गैंडाकोट नगरपालिकाको वडा नं. ११ मा धान ब्लक कार्यक्रम सञ्चालन गरिएको छ ।
कृषि ज्ञान केन्द्र नवलपुरकी बाली संरक्षण अधिकृत मिरा चौधरीले धानको बजारीकरणका लागि कार्यालय मार्फत पहल भइरहेकोे बताउनु भएको छ । यसका लागि जिल्लामा रहेका ठूला राइस मिलसँग छलफल भइरहेको उहाँको भनाइ छ । कतिपय मिललाई किसानसँग प्रत्यक्ष सम्पर्क गराउने काम गरेको चौधरी बताउनु हुन्छ ।
जिल्लामा चैते धानमा केही रैथाने जात भेडे, अनदी, टाईचीन लगाइन्छ भने, अधिकाशंले, हर्दीनाथ, चैते ४ र चैते ५ जातको धान खेती गर्दछन् । कावासोती र गैंडाकोटका किसानले यसपटक नयाँ जातको चैते ५ जातको धान लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्