
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहहरुमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताउनुभएको छ ।
महालेखापरीक्षकको कार्यालयको ६४औं वार्षिकोत्सव कार्यक्रममा राष्ट्रपति भण्डारीले स्थानीय तहहरुमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताउनुभएको हो ।
उहाँले स्थानीय तहका नेतृत्वले विगतका कमी, कमजोरीहरु नदोहोरिने गरी आर्थिक अनुशासनको पालना गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले आर्थिक शुद्धता नै सुशासनको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले महालेखापरीक्षकको कार्यालयले सार्वजनिक निकायहरुबाट नियमित सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, राजस्व संकलन, स्रोत र साधनको बाँडफाँड लगायतका सुधारका क्षेत्रहरु पहिचान गरी सरकारलाई महत्वपूर्ण सुझाव दिनुपर्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले संघ, प्रदेश र स्थानीय तहमा आर्थिक पारदर्शिता कायम गर्न महालेखा परीक्षकको कार्यालय सक्षम हुनुपर्ने बताउनुभयो । सार्वजनिक प्रशासनमा देखिएका अनियमितता, चुहावट र भ्रष्टाचारलाई नियन्त्रण गर्दै विकास र समृद्धिको वातावरण सिर्जना गर्न राज्यका सबै निकायको एकीकृत र समन्वयात्मक विकास हुनुपर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्