१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अवतरण शूल्क समयमै बुझाउन हेली कम्पनीलाई आग्रह


26
Shares

काठमाडौं । लाङ्टाङ राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा बुझाउनुपर्ने अवतरण वापतको शूल्क समयमै दाखिला गर्न सम्बन्धित हेली कम्पनीहरुलाई आग्रह गरेको छ ।

धार्मिक क्षेत्र गोसाइँकुण्डलगायत निकुञ्जका विभिन्न स्थानमा हेलिकप्टर अवतरण गराउने कम्पनीले लामो समयदेखि नियम अनुसार लाग्ने शुल्क नबुझाएका कारण निकुञ्ज कार्यालयले ताकेता गरेको हो ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले हेलिकप्टर अवतरण गराए बापतको शुल्क समयमा बुझाउन केही हेलिकप्टर कम्पनीले आलटाल गरेको पाइएकाले पटक पटक ताकेता गरिएको बताउनुभयो ।

नियमानुसार प्रतिउडान तीन हजारका दरले अवतरण बापतको शुल्क यही असार २५ गतेभित्र दाखिला गरी राजश्व असुली कार्यमा सहयोग गरिदिन हेलिकप्टर कम्पनीलाई धेरै पटक आग्रह गरिएको समेत निकुञ्ज कार्यालयले जनाएको छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जको आधार इलाकामा उडान भर्ने १० वटा हेलिकप्टर कम्पनी रहेको बताइएको छ । यस्तै, लाङ्टाङ राष्ट्रिय निकुञ्ज अन्तर्गतको जैविक विविधता संरक्षण कार्य प्रभावकारी तुल्याउन मातहतका समूहसँग परामर्श गरेको छ ।