२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जोखिम र अपमानले भरिपूर्ण काठमाडौंको साइकल जीन्दगी

चालक भन्छन्– ‘...भनेर भएन, सरकारले सुन्दै सुन्दैन’

39
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा साइकल लेन नहुँदा साइकल नै सवारी बनाएका र साइकल यात्राबाट नै आफू र आफ्नो घर परिवार पाल्दै आएका नागरिकको यात्रा जोखिमपूर्ण बन्दै गएको छ ।

स्मार्ट शहर निर्माणसँगै साइकलमैत्री सडकका नाममा धेरै बहस भए । जनचेतनामूलक र्यालीहरू पनि निकालिए, दवावमूलक कार्यक्रम पनि भए, तर साइकल यात्रीहरूको सास्ती झन् बढ्दो छ ।

नुवाकोट घर भएका हरि थापा विगत २० वर्षदेखि साइकलमा सामान ओसारपसारको काम गर्छन् । उनको जिउने आधार साइकल नै हो ।

साइकलको लेनको अभावमा ठूला सवारी चालकबाट पटक–पटक अपमानित हुनुपरेको मात्र होइन, ज्यान नै जोखिममा पर्ने गरेको उनको अनुभव छ । साइकल लेन बनाइदिन सरकारसँग उनकाे माग छ ।

‘हामी आफ्नो बाटो हिड्दा पनि मोटरसाइकल र गाडीहरू पेल्न आउँछन्,’ उहाँले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, ‘सरकारले लेन बनाइदिए अलि सुविस्था हुन्थ्यो नि, भनेर भएन, सरकारले सुन्दै सुन्दैन ।’

थापाजस्तै बुढानिलकण्ठका गोपाल रिमाल पनि साइकल चालक हुन् । साइकलमा यात्रा गर्दा विहान घरबाट निस्किएपछि बेलुका घर फर्किन्न कि भन्ने डर मनमा रहिरहने उनी बताउँछन् । सधैंजसो हुने दुर्घटनाको समाचारले झन् अत्यास बढाउने उनको भनाइ छ ।

‘साइकल लेन भए आफ्नो सुरमा हिड्न पाइयो नि,’ उहाँले भन्नुभयो, ‘नहुँदा गाडीको पेलानमा परिन्छ, बेलुका घर फर्किन्छ कि फर्किन्न भर हुन्न ।’

त्यसैगरी छिमेकी मूलुक भारतबाट रोजगारीको सिलसिलामा नेपाल आएका थुप्रै मानिस साइकलमा कबाडी संकलन गर्छन् । ज्यान जोखिममा राखेर काम गर्नु त छँदैछ, त्यसमाथि महंगीले जीवन धान्ने क्षमता क्षीण हुँदै गएको अनुभव उनीहरूको छ ।

पाँच वर्षअघि साइकल लेनको आश्वासन पाएका काठमाडौंबासी अहिले पनि त्यही कागजी एजेण्डा सुन्न बाध्य छन् । सौख पालेकाहरूले त लाखौंको सुविधा सम्पन्न साइकल चढेर स्वास्थ्य चुस्त राख्लान् ।

तर, सस्तो साइकल चढेर महंगो श्रम गर्नेहरूका लागि भने शहरी जीवन पीडादायी बनेको छ । नव निर्वाचित जनप्रतिनिधिहरुको यो विषयमा गम्भीर ध्यानाकर्षण हुन जरुरी छ ।