
काठमाडौं । अर्थमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले बैंकिङ तरलता र भुक्तानी सन्तुलनमा भएको घाटाले अर्थतन्त्रमा समस्या आएको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.उप्रेतीले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय बैंकिङ कर्जा विस्तार १९ प्रतिशतले र निक्षेप ५ प्रतिशतको वृद्धि रहेको बताउनुभयो ।
डा.उप्रेतीले कोरोना महामारीपछि अत्याधिक रूपमा वस्तु आयात भएकाले भुक्तानी सन्तुुलनमा घाटा भइरहेको बताउनुभयो । उहाँले पछिल्लो ७ महिनादेखि लगातार विदेशी मुद्रा सञ्चिती गिरावट भइरहे पनि सरकारले आयात नियन्त्रण नीति लिएकाले नियन्त्रणमा रहेको दाबी गर्नुभयो ।
डा.उप्रेतीले मुद्रा सञ्चिती स्थिर हुनु भनेको सरकारले आयात नियन्त्रण गर्न लिएको नीति कार्यान्वयन भएको बुझ्नपर्ने जिकिर गर्नुभयो । उहाँले चालु आर्थिक वर्षको असार मसान्तसम्म १९ सय अर्बको आयात हुनसक्ने बताउनुभयो ।
डा. उप्रेतीले अबको तीन÷चार वर्षसम्म विदेशी मुद्रा सञ्चितीमा दवाव कायम नै रहने दाबी पनि गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्