१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


चिनियाँ राजदूतले भेटिन् नेकपाका दुबै पक्षका नेता, नेकपा संकटबारे सोधनी


0
Shares

काठमाडौं, बैशाख १९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा राजनीतिक संकट चुलिएका बेला उत्तरी छिमेकी चीनका राजदूतको दौडधूप निकै बढेको छ । नेपालका लागि चिनियाँ राजदूत हाउ याङछीले एकपछि अर्को गर्दै नेकपाका नेताहरुलाई लगातार भेट गरिरहेकी छिन् ।

यसै सिलसिलामा राजदूत याङछीले नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गरेकी छन् । शुक्रबार बिहान करिब एक घण्टा भएको भेटको विस्तृत विवरण नदिइएपनि नेकपाको आन्तरिक द्वन्द्व नै मूल विषय रहेको बताइएको छ ।

आफ्नै कार्यशैली र निर्णयहरुका कारण पार्टीभित्र क्रमशः कुनामा चेपिँदै गएका प्रधानमन्त्री केपी ओलीको सत्तामा निरन्तरता हुने नहुने भन्ने चासो तीब्र भइरहेका बेला वर्तमान सत्ता गठबन्धन निर्माणमा भूमिका रहेको मानिएको देशका राजदूतको भेटलाई निकै अर्थपूर्ण मानिएको छ ।

दाहालसँग भेट गरेलगत्तै उनले नेकपाका अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेकी छिन् । राजदूत याङछीले बिहीबार प्रधानमन्त्री केपी ओलीसँग पनि भेटघाट गरेकी थिइन् ।

चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन वार्ता गरेको एक साता नपुग्दै राजदूत याङछीको यो दौडधूप चलेको हो । राष्ट्रपति सीले भण्डारीसँग फोन वार्ता गरेपछि राजदूत याङछीले पनि भण्डारीसँग एक्लै भेट गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

चिनियाँ राष्ट्रपतिको टेलिफोन, चिनियाँ विदेश विभाग प्रमुखको माधव नेपाल लगायतका नेकपाका नेताहरूसँग तीन घन्टा लामो भिडियो वार्तापछि चिनियाँ राजदूतले भेटघाट बाक्लो बनाएकी हुन् ।

पछिल्लो निर्वाचन अगाडी अलग अलग रहेका दुई दल नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन तथा निर्वाचनपछि पार्टी एकीकरणका लागि उत्तरी छिमेकीको प्रोत्साहन रहेको बताइएका बेला ओली सरकार संकटमा फसेकै बेला राजदूतको दौडधूप चलेको देखिन्छ ।

कोराना भाइरसको संकटमा परेको नेपाललाई चीनले केही स्वास्थ्य सामग्री सहयोग गरेको छ भने नेपाली व्यापारीहरुले चीनबाट ती सामग्री खरिद गरेर ल्याइरहेका पनि छन् । सरकारले पनि चीनसँग जीटूजी प्रक्रियामा स्वास्थ्य सामग्री किन्दै छ । यसअघि सरकारले नै ठेक्का दिएको ओम्नी इन्टरनेशनलले चीनबाटै भित्र्याएको परीक्षण किट लगायतका सामग्री कम गुणस्तरको भएपछि सरकारले उसँगको टेन्डर नै रद्द गरेको थियो ।