
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानबाट वामदेव गौतम आफैं निष्कासनमा पर्नुभएको छ ।
कम्युनिस्ट पार्टी एकता गर्ने घोषणाका साथ असार १४ गते घोषणा भएको गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबाट साता दिन नपुग्दै गौतम घर न घाटको हुनुभएको हो ।
नेकपा एकता राष्ट्रिय अभियानमा आवद्ध चार दलले संयोजक गौतमलाई विभिन्न ५ बुँदे आरोप लगाएर पार्टीबाट निष्कासन गर्दै अभियानको नेतृत्व युवराज सफललाई दिइएको छ ।
यद्यपि गौतमको सचिवालयले संयोजक तोकिएका सफलले असार १६ गते नै अभियानबाट राजीनामा दिएको दाबी गरेको छ ।
नेपालको राजनीतिमा ‘बदनाम होस् तर गुमनाम नहोस्’ चरित्रका नेताको रूपमा चिनिनुहुन्छ वामदेव गौतम । राजनीतीमा गौतम राम्रोभन्दा विवादका कारण चर्चामा रहने गर्नुभएको छ ।
नेपालको वाम आन्दोलनमा लामो भूमिका र योगदान निर्वाह गर्नुभएका वामदेवले हक्की तर अस्थिर स्वभावको छवि बनाउनुभएको छ । सोही स्वभावले गौतम विवादमा पर्ने गरेको विश्लेषण छ ।
महाकाली सन्धीको सम्बन्धमा उत्पन्न विवादका कारण गौतमले २०५४ सालमा पार्टी विभाजन गरेर नेकपा माले गठन गर्नुभयो । तर, २ वर्षपछि २०५६ सालमा सम्पन्न आमनिर्वाचनमा पार्टीको पत्तासाप भएपछि गौतम एमालेकै शरणमा फर्किनुभयो ।
गौतमलाई त्यतिबेला कार्यकर्ता जति माओवादीमा पठाएको आरोप लाग्ने गरेको थियो । तत्कालिन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका निर्वाह गर्नुभएका गौतम शान्तिप्रक्रियाको सुरुवातसँगै माओवादीका नेताहरूसँग अस्वाभाविक नजिकिनुभयो ।
माओवादीसँगको हिमचिमको कारण तत्कालिन समयमा पार्टीभित्रै गौतमको चर्को आलोचना भएको थियो । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित गौतमले उक्त पराजयलाई राजनीतिक जीवनको भयानक दुर्घटनाका रूपमा टिप्पणी गर्नुभयो ।
गौतम २०७४ अघि २०५६ र २०६४ गरी दुईपटक चुनावमा पराजित हुनुभयो । २०७४ को निर्वाचन भइरहँदा गौतम एमालेभित्र चौथो नम्बरका नेता हुनुहुन्थ्यो ।
२०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा गठन भएपछि ९ सदस्सीय सचिवालयको पाँचौं नम्बरका नेता हुनुभएका गौतमको व्यवस्थापन सिंगो नेकपाकालमा सकसपूर्ण रह्यो । नेकपाकालिन राजनीतिक परिदृश्यमा पार्टीभित्र गौतम जता लाग्यो, त्यतै पल्लाभारी भयो ।
सुरुमा शक्तिशाली विकास प्राधिकरण स्थापना गरेर नेतृत्व लिन जोडबल गर्नुभएका गौतम कहिले कुनै निर्वाचन क्षेत्र खाली गराएर सांसद बन्ने, कहिले प्रधानमन्त्री, कहिले पार्टी उपाध्यक्ष त कहिले राष्ट्रियसभा सदस्यका बन्ने विषयले नेकपाकालको करिब दुई वर्ष बित्यो ।
राष्ट्रियसभाबाट प्रधानमन्त्री हुने व्यवस्था गर्न नेकपाले संविधान संशोधन गर्न एउटा कार्यदल नै बनायो । तर, चौतर्फी विवादपछि उक्त कार्यदल नै भङ्ग भयो । संविधान संशोधनको विषय वामदेवलाई प्रधानमन्त्री बनाउनकै लागि थियो ।
जीवनको उत्तरार्धमा गौतमले साना वाम घटकलाई समेट्दै वाम एकताको मुख्य उद्धेश्य राखेर नयाँ पार्टी घोषणा गर्नुभयो ।
बिडम्बना, चरम अवसरवादी चरित्र, अराजनीतिक व्यवहार, अहंकारी सोच र जालझेलपूर्ण कार्यशैली अपनाएको जस्ता गम्भीर आरोपसहित दल घोषणाको साता नबित्दै निष्कासनमा पर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्