
काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले प्रदेश प्रहरीलाई अनुसन्धान र सुरक्षाको कामको जिम्मा दिने बित्तिकै सुरक्षा संवेदनशीलतामा दखल हुन्छ भन्नु गलत रहेको बताउनुभएको छ ।
सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा प्रदेश प्रहरी नराख्ने गरी ल्याइएको संशोधन विधेयकमा सहमति जनाउने आधार नरहेको बताउनुभयो ।
सांसद शर्माले केन्द्रीय सरकारले प्रदेश सरकारलाई संघीयताको आधारमा अधिकार दिन बञ्चित गर्दै जाने हो भने प्रदेश प्रहरी र संघीयताकै अर्थ नरहेको जिकिर गर्नुभयो ।
काठमाडौं उपत्यकाबाट नै प्रदेश प्रहरी हटाउने गरेर संशोधित विधेयक आएको भन्दै उहाँले व्यापक छलफल हुनुपर्ने बताउनुभयो ।
सांसद शर्माले काठमाडौं उपत्यकाका तीन जिल्लाबाट नै प्रदेश प्रहरी हटाउने कुरा संविधान प्रतिकुल हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्