
ओखलढुंगा । सामाजिक सञ्जाल प्रयोगकर्ताले साइबर अपराधका घटनामा जिल्लामै सहज कानूनी उपचार पाउन नसकेको गुनासो गरेका छन् ।
‘सामाजिक सञ्जालको सुरक्षित प्रयोग’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रयोगकर्ताहरूले सञ्जालमा साइबर अपराधका अनेकौं विषय भए पनि जिल्लामै उजुरी लिने व्यवस्था नहुँदा कानूनी उपचार पाउन असहज भएको गुनासो गरेका हुन् ।
कार्यक्रममा सहभागीहरूले जिल्लामै उजुरी लिने र उजुरी प्रकियालाई सहज बनाउनुपर्ने धारणा राखेका थिए । उजुरी र प्रक्रिया सहज नहुँदा साइबर अपराधका पीडितले झन् पीडा सहनुपरेको बताए ।
गाउँघरका सोझासाझा जनता साइबर अपराधबाट पीडित भइरहे पनि कानुनी उपचारको प्रक्रिया र झन्झटकै कारण अपराधीले उन्मुक्ति पाइरहेको सहभागीले बताए ।
कार्यक्रममा ओखलढुंगाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले साइबर अपराधबाट धेरै जनता पीडित भएको र यसबाट बच्न आफैं सचेत रहनुपर्ने धारणा राख्नुभयो ।
नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेले साइबर अपराध न्युनिकरणका लागि प्राधिकरण निरन्तर लागिरहेको बताउनुभयो ।
कार्यक्रम नेपाल दूरसञ्चार प्राधिकरण र टेक्मो इन्जिनियरिङ सोलुसन प्रालिले आयोजना गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्