१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अर्थ मन्त्रालय र अर्थमन्त्रीले दोहोरो अपराध गरे : प्रदीप ज्ञवाली


78
Shares

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदिप ज्ञवालीले बजेट निर्माणको बेलाको सिसीटिभी फुटेज डिलिट गरेर अर्थमन्त्री जनार्दन शर्माले दोहोरो अपराध गरेको आरोप लगाउनुभएको छ ।

उपमहासचिव ज्ञवालीले बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश गराएर सरकार र मन्त्रीले ठूलै आर्थिक चलखेल गरेको दाबी गर्नुभयो ।

‘वास्तवमा यो दोहोरो अपराध हो, बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश र उनीहरूको उपस्थितिमा करका दरहरूको हेरफेर यो एउटा जघन्य अपराध त छँदैथियो,’ उहाँले भन्नुभयो, ‘यो अपराधलाई लुकाउनका निमित्त त्यस सम्बन्धि प्रमाण नष्ट गर्नका लागि यदि साँच्चैनै सिसीटिभी फुटेज नष्ट गरिएको हो भने अर्को ठूलो अपराध हो ।’

सोमबार संसद भवन परिसरमा पत्रकारहरूमाझ उहाँले सो घटनाको सिसीटिभी फुटेज डिलिट भएको भनेर अर्थ मन्त्रालयले त्यसमा गम्भीर घोटाला भएको आफैंले पुष्टि गरेको जिकीर समेत गर्नुभयो ।

उपमहासचिव ज्ञवालीले सो घटना अक्षम्य अपराध भएको उल्लेख गर्दै त्यसमा संलग्न अर्थमन्त्री शर्मासहितलाई तत्काल छानविन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने आफ्नो पार्टीको अडान रहेको पनि स्पष्ट पार्नुभयो ।

उपमहासचिव ज्ञवालीले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर जघन्य अपराध गरेको सरकारले त्यसको प्रमाण नै नष्ट हुने गरी सिसीटिभी फुटेज पनि डिलिट गरेको बताउनुभयो ।