
दीपक चालिसे
फ्रान्स । नोकरी,अध्ययन र बिभिन्न कारणले विदेशमा पुगेका नेपालीहरु विभिन्न पेशा र व्यवसायमा आवद्ध रहने गरेका छन् ।
युरोपीयन मुलुक फ्रान्समा पनि नेपालीहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ । जुनसुकै माध्यमले विदेश पुगेका भएपनि उनीहरुले नेपाल र नेपालीलाई विर्सन सक्दैनन् ।
ती मध्येकै एक हुन रुपन्देहीको सैनामैना नगरपालिका घर भएका उत्तम भट्टराई । उनले फ्रान्सको पेरिस स्थित सानमिचेल नोथेदाम चर्चको छेउमा आफ्नो व्यवसायमात्रै संचालन गरेका छैनन् । उनको पसलमा पुग्ने विदेशीलाई नेपाल बारे बताउने गरेका छन् ।फ्रान्समा बस्ने नेपालीहरुमध्ये प्रायजसोले रेष्टुरेण्ट लगायत अन्य व्यवसाय संचालन गर्दै आएपनि भट्टराईले भने कपडा लगायतका सामग्रीको पसल खोलेका छन् । सानमिचेल नोथेदाम चर्च पेरिसमा पर्यटकीय र ऐतिहासिक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ । त्यसकै छेउमा खोलेको पसलमा बसेर भट्टराईले नेपाल र नेपालको पर्यटनबारे विदेशी पर्यटकलाई जानकारी दिने गर्छन । उनले आफ्नो पसलमा आउने पर्यटकलाई खासगरी नेपाली पस्मिना खरीदका लागि आग्रह गर्ने गर्छन । ती बाहेक उनले फ्रान्समै उत्पादित कपडा पनि बिक्री गर्ने गरेका छन् ।

तर विश्वमा नेपाली पस्मिनाको माग धेरै भएपनि यसतर्फ नेपाल सरकारले ध्यान नदिएको भट्टराईको गुनासो छ । उनले भने ‘ यदि नेपाल सरकारले ध्यान दिने हो भने पस्मिना लगायत नेपाली उत्पादनको बजार युरोपमा राम्रो छ ।’ सन् २०१५ मा विद्यार्थी भिषामा उनी फ्रान्स पुगेका थिए । त्यहाँ पुग्दा शुरुमा उनले नेपालमा वाइन व्यवसाय कसरी गर्न सकिएला भन्ने विषयमा अध्ययन गर्न थाले । तर पछि विदेशमा अरुले गरेको भन्दा छुट्टै पेशा अपनाउने सोचले फ्रान्स र नेपाली उत्पादन बिक्री गर्ने तथा नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्येश्यले उनले पसल खोलेको बताए ।

उनको पसलमा रुस, जर्मनी, बेलायत, अमेरिका स्वीटजरल्याण्ड लगायतका मुलुकका पर्यटकहरु पुग्ने गर्छन । उनले सबैलाई नेपाल भ्रमण गर्न आग्रह गर्छन् ।
प्रतिक्रिया दिनुहोस्