२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


झुलाघाट नाका बन्द


247
Shares

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आज बुधबार साँझसम्मका लागि बन्द भएको छ ।

झुलाघाटमा रहेको झोलुंगे पुल मर्मत गर्न मंगलबार साँझ ६ बजेदेखि बुधबार साँझ ७ बजेसम्मका लागि नाकामा आवातजावत बन्द गरिएको हो ।

महाकाली नदीमाथिको रहेको पुलको भारतीय सीमानातर्फ बेस (काठ) लक भाच्चिएकाले मर्मतका लागि आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

पुलको लक भाँच्चिएपछि दुवै देशका सुरक्षा निकायहरुले मंगलबार दिउँसो पुलको अवलोकन तथा निरीक्षण गरेका थिए ।

पुल जीर्ण भएका कारण पूल मर्मत नगरी संचालनमा ल्याउँदा थप जोखिम हुने सक्ने भएकाले पुलबाट हुने सबै आवागमन रोक्न लगाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । झण्डै ४ सय वर्ष पुरानो झोलुङ्गे पूल बेला–बेला मर्मत गरिँदै आएको छ ।

पुरानो काठको पुल भारतीय पक्षले बेला–बेला काम चलाउको लागि मर्मत गरेपनि पूर्ण रुपले मर्मत हुन सकेको छैन । पुल मर्मत नहुँदा सयौं मान्छेहरु दैनिक जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

झुलाघाटको महाकाली नदीमा मोटरेबल पुलको आवश्यकता भएपनि अहिलेसम्म मोटरेबल पुलको काम अघि बढ्न सकेको छैन । उक्त नाकामा मोटरेवल पुलको माग गर्दै बैतडीवासी ३८ दिन लामो रिले अनशन बसेका थिए । तर उक्त मागको कुनै सुनुवाइ भएको छैन् ।