२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बागलुङका खानेपानीको मुहानमा ‘कोलिफर्म’ भेटियो


234
Shares

बागलुङ । बागलुङ जिल्लाका अधिकांश खानेपानीका मुहानमा ‘कोलिफर्म’ कीटाणु फेला परेको छ ।

स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा गरेको पानीका मुहान परीक्षणका क्रममा जिल्लाभरका ८४ खानेपानीका मुहानमध्ये अधिकांशमा ‘कोलिफर्म’ फेला परेको हो ।

बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वितरण गरिरहेको खानेपानीको मुहानदेखि जिल्लाका अधिकांश मुहानमा ‘कोलिफर्म’ भेटिएको कार्यालयले जनाएको छ । नगरमा वितरित पानीका धारामा भने ‘कोलिफर्म’को मात्रा शून्य छ ।

ट्याङ्कीमा पानीको उपचारका लागि क्लोरिन पाउडरको प्रयोग हुने भएकाले धारामा ‘कोलिफर्म’ नदेखिएको स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक डिल्ली आचार्यले बताउनुभयो ।

बागलुङ नगरपालिकाका १७ मुहानको पानी परीक्षण गर्दा १० वटा मुहानमा ‘कोलिफर्म’ देखिएको छ । जैमिनी नगरपालिकाका १० मुहानमध्ये सात, गलकोट नगरपालिकाका १२ मध्ये तीन, ढोरपाटन नगरपालिकाका सातमध्ये दुई, तमानखोला गाउँपालिकाका १६ मध्ये सात र बडिगाड गाउँपालिकाका नौमध्ये तीनवटा पानीको मुहानमै ‘कोलिफर्म’ भेटिएको हो ।

त्यस्तै, निसीखोला गाउँपालिकाका आठमध्ये चार, तमानखोला गाउँपालिकाका ११ मध्ये चार र बरेङ गाउँपालिकाका १२ मध्ये चारवटा मुहानमा ‘कोलिफर्म’ भेटिएको आचार्यले जानकारी दिनुभयो ।

खुल्ला चौरभन्दा तल्लो भागमा रहेका मुहान, मानव बस्तीको नजिकै रहेका मुहान र खोलामा बगेको पानीलाई एकीकृत गरेर ल्याइएका मुहानमा ‘कोलिफर्म’को मात्रा बढी देखिने गरेको छ ।

मानव दिशामा हुने ‘कोलिफर्म’युक्त पानी पिउँदा हैजा, झाडापखाला, आउँ, टाइफाइड, जन्डिस, हेपाटाइटिस रोगहरुको संक्रमण हुनसक्ने स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताउनुभयो ।