१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नवलपराका सीमा नाकाबाट चिनीको तस्करी बढ्यो


234
Shares

नवलपरासी । पश्चिम नवलपरासीमा सीमा नाकाबाट नेपालतर्फ चिनीको तस्करी बढेको छ ।

विगत केही दिनदेखि तस्करी मौलाए पनि नियन्त्रणका लागि प्रहरीले बेवास्ता गरेको स्थानीको आरोप छ । सीमा क्षेत्रमा प्रहरीका युनिटहरु तैनाथ भएपनि चिनी तस्करमार्फत सहज रुपमा भित्रिने गरेको छ ।

भन्सार छलेर भारतबाट दैनिक १० देखि १२ ट्रक चितवन, हेटौंडा, पोखरालगायतका प्रमुख शहरहरुमा जाने गरेको बताइएको छ । रातको समयमा मात्र नभई दिउँसै पनि चिनीको तस्करी हुने गरेको स्थानीय बताउँछन् ।

सीमा नाकाहुँदै भित्रने तस्करीको चिनीलाई पश्चिम नवलपरासी प्रहरीले बरामद गर्न वास्ता नगरेपछि पूर्वी नवलपरासीको प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । ट्रकमा लैजाँदै गरेको चिनी प्रहरीले बरामद गरेको हो ।

तस्करीबारे पश्चिम नवलपरासी प्रहरी बेखबर जस्तै बनेको छ । दुई साताको अवधिमा ३० लाख बराबरको ५० टन तस्करीको चिनी बरामद गरी कार्यालयमा बुझाइएको महेशपुर भन्सार कार्यालयका नायब सुब्बा जीवन पन्थीले जानकारी दिनुभयो ।

चिनी पूर्वी नवलपरासी प्रहरीले बरामद गरेको हो । चिनी तस्करी बढेपछि भन्सार कार्यालयले पनि छुट्टै कर्मचारी खटाएर गस्ती बढाएको भन्सार कार्यालयका नायब सुब्बा पन्थीले बताउनुभयो ।

सीमा क्षेत्रमा रहेका प्रहरी कार्यालयका इन्चार्जहरुले जिल्लादेखि प्रदेश प्रहरीसम्म रकम बुझाउनु पर्नेभन्दै तस्करहरुसँग मोटो रकम लिएर चिनी तस्करी गर्न दिएको आरोप छ । तस्करी बढेको गुनासो आएपछि सशस्त्र प्रहरीसँग मिलेर संयुक्त गस्ती थालिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका उपरीक्षक ऋषिराम कडेलले बताउनुभयो ।