१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सगरमाथाको काखमा दुई नयाँ प्रजातिको च्याउ भेटियो, जिन सिक्वेन्सिङ गर्न विज्ञकाे सुझाव


884
Shares

काठमाडौं । नेपालमा पहिलो पटक शुरु भएको जंगली च्याउ पर्यटनले आशा जगाएको छ । भ्रमणको क्रममा पर्यटकको टोलीले दुईवटा नयाँ प्रजातिकोे च्याउसमेत फेला पारेको छ । जसले च्याउको अनुसन्धानका लागि समेत झकझकाएको छ ।

नेपालको लागि नौलो जंगली च्याउ पर्यटनलाई मनसुन सिजनमा नयाँ अवसरको रूपमा विकास गर्ने सकिने सम्भावना देखिएको छ । नेपालको पर्यटन क्षेत्रको इतिहासमा पहिलो पटक सुरु भएको जंगली च्याउ पर्यटन गत जुन १९ देखि जुलाई २ सम्म भएको थियो ।

मनुसुनको बेला च्याउ प्रशस्त उम्रने भएकाले पनि यो अफ सिजन च्याउ पर्यटनको लागि उपयुक्त समय हो । अमेरिकन, मेक्सिकन पर्यटक र नेपाली च्याउविज्ञहरूको टोलीले सोलुखुम्बुको सल्लेरी हुँदै सगरमाथा आधार शिविरसम्मको यात्रा गरी च्याउको पारिस्थितिक प्रणाली अवलोकन गरेको थियो ।

जुन रोमाञ्चित त थियो नै तर यसले थप आशा पनि जगाएको छ । खरीखोलादेखि खुम्जुङ्गसम्मको टे«क रुटमा टोलीले दुईवटा नयाँ प्रजातिको जंगली च्याउ फेला पारेको छ । ती च्याउ एमानिटा टुल्लोसिस्ना भारतमा र त्रेमेला साल्मोनिया चीनमा सन् २०१९ रेकर्ड गरिएको थियो ।

काठमाडौं आएर पत्रकार सम्मेलन गर्दै च्याउ विशेषज्ञ डा. शिव देवकोटोले प्रारम्भिक रूपमा हेर्दा टोलीले देखेको च्याउ यही प्रजातिको हुन सक्ने जानकारी दिनुभयो । हाललाई रोचक च्याउ भन्न सकिने भन्दै यसले जंगली च्याउ पर्यटनमा आशा र उत्सुकता थपिएको उहाँको भनाइ छ ।

अमेरिकी पर्यटक एवं माइकोलोजिस्ट थोमस रोहली फेला परेका दुई नयाँ च्याउको जीन सिक्वेन्सिङ गर्न सके नयाँ तथ्य आउन सक्ने बताउनुहुन्छ । इन्टरनेसनल माउन्टेन ट्रेकिङका कार्यकारी निर्देशक रिचर्ड एफ सिल्बर खुम्बु क्षेत्र देखिएको नयाँ च्याउले उत्सुकता थपिएको भन्दै यसलाई पर्यटनसँग जोड्नु पर्ने बताउनुहुन्छ ।

अमेरिकी माइकोलोजीष्ट डा.ब्रिट बर्नगार्ड सगरमाथा राष्ट्रिय निकुञ्जमा थप जैविक विविधता हुनसक्ने भन्दै थप नयाँ प्रजातिका च्याउ फेला पर्न सक्नेमा आशावादी हुनुुहुन्छ । च्याउ पर्यटनसँगै यसको अनुसन्धान पनि सँग–सँगै हुनुपर्ने उहाँको सुझाव छ ।

अमेरिकी पत्रकार सारा वाटसन नेपालमा अफ सिजनमा च्याउ पर्यटन प्रवर्द्धन गर्न मिडियाको पनि ठूलो भूमिका हुने भन्दै यसले स्थानीय पर्यटनलाई बढावा दिने धारणा राख्नुहुन्छ ।

खरीखोला २१३७ मिटरदेखि सगरमाथा आधार शिविर ५३६४ मिटर सम्म यस्तो विविधता देख्नु पक्कै पनि राम्रो हो । स्वीट्जरल्यान्ड जस्तो भूपरिवेष्कि मुलुकमा बाह्रै महिना पर्यटन मौलाएको छ ।

यदि स्वीट्जरल्यान्डमा जस्तै बाह्रै महिना पर्यटनको विकास गर्ने हो भने च्याउको अनुसन्धानको साथ–साथै च्याउ पर्यटन लगायतका नेपालको मौलिक पर्यटन ब्राण्डको विकास गर्न सरकारले ठोस नीति कार्यान्वयन गर्न सक्नुपर्छ ।

तस्बिर साैजन्य : थोमस रोहली