
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मातृभाषा पत्रकारिताको संरक्षण राज्यले गर्नुपर्ने बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा भएको दोस्रो मातृभाषा पत्रकारिता सम्मेलनमा उपप्रमुख डंगोलले मातृभाषा पत्रकारिताको माध्यमबाट पत्रकारितामात्र नभइ मातृभाषाको संरक्षण एवं विकाससमेत योगदान पुग्ने बताउनुभयो ।
उपप्रमुख डंगोलले भाषासँग लेख्य परम्परामा रहेको प्राचीन लिपिको संरक्षणमा लाग्न पनि आवश्यक रहेको बताउनुभयो । मातृभाषाको संरक्षणबाटै समुदायको भाषा, संस्कृति, संस्कारको संरक्षण हुने तथा त्यसले सम्बन्धित समुदायको पहिचान जोगाउने भएकाले मातृभाषालाई जोगाउन आवश्यक रहेको उहाँको भनाइ छ ।
उपप्रमुख डंगोलले मातृभाषी पत्रकारले आफ्नो समुदायको विषयमा मात्र खुम्चिनु उचित नहुने भन्दै मातृभाषा पत्रकारिताको माध्यमबाट देशको अवस्था, राजनीतिको विषय तथा अन्य पक्षलाई पनि उजागर गर्न सुझाव दिनुभयो ।
मातृभाषा विकासका लागि राज्यमा रहेका जिम्मेवार निकाय र प्रतिनिधिले सकारात्मक भएर लाग्नुपर्नेमा उहाँको जोड छ ।
कार्यक्रममा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)का वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले संस्कार, संस्कृतिको संरक्षण गर्न भाषाको संरक्षण अनिवार्य शर्त भएकाले मातृभाषा पत्रकारिता जोगाउन सरकारले आवश्यक सहयोग गर्नुपर्नेतर्फ जोड दिनुभयो ।
पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले पञ्चायत कालमा पञ्चायतकालमा पत्रकारिताको महत्त्वमा प्रकाश पार्दै प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यको करिब १०० बर्ष अघि प्रकाशित पत्रिकाले पनि राणा शासन अन्त्यका लागि योगदान गरेको इतिहास स्मरण गर्नुभयो ।
सम्मेलनले मातृभाषा पत्रकारिताको महत्व प्रकाश पार्दै १० बुँदे घोषणापत्र जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्