७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


पदाधिकारी चयनको विषयमा गृहकार्य नपुगेको भन्दै अध्यक्ष दाहालले मागे समय


39
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारी चयनमा गृहकार्य नपुगेको भन्दै केन्द्रीय सदस्यहरुसँग समय माग्नुभएको छ ।

केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी कमिटी टुंगो लगाएको भन्दै उहाँले पदाधिकारीमा ठूलो समस्या नरहेको बताउनुभयो ।

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको विकल्प नभएको भन्दै उहाँले महासचिव र उपमहासचिवको खाका तयार भइसकेको जानकारी दिनुभयो । केन्द्रीय समिति बैठकले माओवादी केन्द्रको १५६ सदस्यीय पोलिट्ब्यूरो र ४१ सदस्यीय स्थायी समिति टुंगो लगाएको छ ।

यसअघि आजै बसेको केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्ने निर्णय गरेको थियो । अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा छानबिन समिति बनाउने माओवादीकाले निर्णय गरेको छ ।

यो समितिले १५ दिनभित्र स्थायी समितिलाई प्रतिवेदन बुझाउने र त्यसका आधारमा कारबाही निर्धारण हुने छ ।

यस्तै, बैठकले पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई एक हप्ताभित्र आफ्नो मन्त्रालयको प्रगति विवरण बुझाउन निर्देशन दिएको छ । धेरै नकारात्मक विषय बढी प्रचार भएकाले अब आफ्नो पार्टीका मन्त्रीहरूले हासिल गरेका उपलब्धिलाई जनतामा लैजानुपर्ने भन्दै बैठकले प्रगति बुझाउन निर्देशन दिएको हो ।