
काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) का पूर्व अध्यक्ष सेप ब्लाटर र उपाध्यक्ष मिचेल प्लाटिनी एक आर्थिक अपचलनको मुद्दामा निर्दोष ठहर भएका छन् ।
उनीहरुलाई २ मिलियन स्वीस फ्र्यांक रकम अपचलनको मुद्दा लागेको थियो । सन् २०११ मा अनधिकृत रुपमा ब्लाटरले प्लाटिनीलाई सो रकम दिएको दाबी गरिएको थियो । दुबैले आफुमाथि लागेको आरोपको खण्डन गरेका थिए ।
प्लाटिनीले त्यतिबेला फिफाको सल्लाहकारका रुपमा गरेको कार्यका लागि ढिला भुक्तानी गरिएका कारण गलत बुझाइ भएको दाबी गरिएको छ ।
शुक्रबार अदालतमा पुग्दै गर्दा ब्लाटरले आफू जीवनमा निर्दोष नभए पनि यो मुद्दामा भने निर्दोष रहेको बताएका थिए । स्वीटजरल्याण्डको बेलिनजोनास्थित आपराधिक अदालतमा ११ दिन लामो अनुसन्धान जुन २२ मा सकिएको थियो ।
बयानका क्रममा ब्लाटरले सन् १९९८ मा आफूले पहिलोपल्ट विश्व फुटबलको नियामक निकायको नेतृत्व लिएलगत्तै प्लाटिनीलाई सल्लाहकारका लागि प्रस्ताव गरेका बताएका थिए ।
प्लाटिनीले सन् २००२ पछि फिफाका लागि काम गर्न छाडेका थिए । तर सन् २०१० सम्म आइपुग्दा उनले फिफालाई भुक्तानीका लागि कुनै दवाव दिएका थिएनन् ।
प्रतिक्रिया दिनुहोस्