
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-१ मा पर्ने निस्कोट गाउँको सिरानमा रहेको बराह तालमा हिमालको प्रतिबिम्ब देखिने गरेको छ ।

निस्कोट सामुदायिक वनको पुछारमा रहेको यो ताल उत्तरपश्चिम भएर फैलिएको छ । क्षितिजमा धवलागिरी हिमाल देखिन्छ भने सोही हिमालको प्रतिबिम्ब तालमा देख्दा यहाँ पुग्ने आन्तरिक पर्यटकहरु छक्कै पर्ने गर्दछन् । गाउँको सिरानमा र जंगलको पुछारमा रहेको यो ताल कहिल्यै पनि फोहोर हुँदैन् । यहाँ जंगलका पात पतिङ्गर परिहाले भने (पंक्षी /चरा) हरुले चुच्चोले टिपेर बाहिर फ्याक्ने गर्दछन् । निस्कोट गाउँमा पुगेपछि घना वन जङ्गलकोबीच भाग र केही मानव बस्ती रहेको ठाउँमा बराहतालको लोभलाग्दो दृश्य हेर्न पाइन्छ ।

समुन्द्री सतहदेखि २ हजार ३ सय मिटरको उचाइमा अवस्थित बराहताल र तालको आस-पासबाट मनोरम हिमश्रृङ्खलाहरु देखिन्छन् । बराहताल क्षेत्रबाट संसारको सातौं तथा नेपालको दोस्रो अग्लो चुचुरो धौलागिरी हिमालको साथै गुर्जा, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे र मानापाथी लगायतका आधा दर्जन भन्दा बढी हिमाल र मनोरम दृष्यहरुको प्रत्यक्ष रुपमा अवलोकन गर्न सकिन्छ । बराहतालमा वन जङ्गल र हिमालहरु देखिने प्रतिबिम्ब (छाँया) समेत आकर्षक रुपमा देखिने निस्कोटका स्थानीय रमेश पुनले बताउनुभयाे ।

रोमाञ्चक भू–बनोट, हरियाली र विविधताले युक्त सुन्दर गाउँ, मनमोहक प्रकृति र यही प्रकृतिको नेरोफेरोमा रहेको चित्ताकर्षक बराहतालले अहिले पर्यटकहरुलाई पर्खिरहेको छ । पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको र मौसम खुलेको समयमा आँखै अगाडि सेताम्मे हिमालहरुको लर्कन देखिने निस्कोटको बराहतालमा थोरै पर्यटकहरु पुग्छन् । भौगोलिक रुपमा विकट र प्रचार-प्रसारको अभावमा थोरै पर्यटकहरु पुगे पनि यहाँ पुग्ने पर्यटकहरु मज्जाले रमाउने गर्दछन् । करिब २ रोपनीको क्षेत्रफलमा फैलिएको बराहतालको आवश्यक संरक्षण, प्रचारप्रसार तथा प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको स्थानीयवासी बताउँछन् ।

हिमालको वरिपरी लुकामारी खेलिरहने बादलको घुम्टोले अझै सुन्दरता थपिदिन्छ । पहाड र आकाश जोडिएको क्षितिजमा पर्ने हिमाल अनि तालमा देखिने हिमालको दृष्यले त्यहाँ पुग्नेहरुलाई अचम्मित बनाउँछ । निस्कोट गाउँमा पुग्ने जो कोही पनि बराहतालको अवलोकन गर्न तथा ताललाई पृष्ठभूमिमा पारेर फोटो र सेल्फी खिच्न भनेर त्यहाँ जाने गरेका छन् । निस्कोट गाउँबाट आधा घण्टाको दूरीमा पर्ने बराहताल स्थानीयका अनुसार करिब २० फिट गहिरो रहेको अनुमान गरिएको छ।



प्रतिक्रिया दिनुहोस्